बिदेशबाट फर्केका युवाको सक्रियता, कुखुरा पालनबाट मासिक १ लाख आम्दानी

-


     कालिका दर्शन     
     चैत्र १ गते २०७८ मा प्रकाशित


बागलुङ नगरपालिका-७ ढिकीचौरका एक युवाले कुखुरा पालनबाट मासिक १ लाख भन्दा बढी कमाई गर्न थालेका छन । कतारमा १२ बर्ष नोकरी गरी नेपाल फर्केपछी स्थानिय ओमराज शर्माले करिब डेढ करोड लगानी गरी लेयर्स जातको कुखुरा पालन शुरु गर्नु भएको हो ।


करिब ४ बर्ष अगाडी ५ जना साथिहरुले ग्रिनल्याण्ड बहुउद्धेश्यिय कृषि फर्म प्रा.ली दर्ता गरी शुरु गरेको यो व्यवसाय अहिले एकल रुपमा शर्माको हातमा आएको छ । विविध कारणबस ५ जना साथिहरुले मिलेर स्थापना गरेको यो व्यवसाय पछि शर्मालाई हस्तान्तरण गरे । स्थापनाताका बाबुराम, तेजेन्द्र लगायतका साथीहरुले विदेशबाट सपना देखेर यो व्यवसाय यस ठाउंमा स्थापना गरेका थिए । अहिले भने शर्माको कुशल व्यवस्थापनमा यो फर्म संचालनमा रहेको छ ।
फर्ममा अहिले करिब ५ हजार ५ सय कुखुरा रहेका छन । ति मध्ये ३ हजार कुखुराले दैनिक अण्डा दिन्छन । बाकी २ हजार ५ सय कुखुराले यसै हप्तादेखि अण्डा दिन शुरु गरेका छन । शर्मा आफै काममा खट्नु हुन्छ । शर्मासंग अरु ३ जनाले सो फर्ममा रोजगारी पाउनु भएको छ ।


४३ रोपनी जग्गा खरिदमा करिब ५० लाख तथा पूर्वाधार निर्माणमा करिब १ करोड खर्च भएको शर्मा बताउनु हुन्छ । उहांको कुखुराको २ वटा भवन १० हजार स्क्वायर फिटका छन । अहिले प्रतिपेटी २ हजार ९ सयमा अण्डा विक्री भैरहेको छ । उत्पादित अण्डाको करिब २० प्रतिशत गाउंमा र बाकी अण्डा बागलुङ बजार खपत हुने शर्माको भनाई छ । उत्पादित अण्डाको लागि बजारको समस्य नरहेको र उत्पादन र विक्रीबाट आफु सन्तुष्ट रहेको शर्माले बताउनु भयो । यति ठूलो कुखुरा फर्म संचालनका लागि शर्माले अहिलेसम्म कसैसंग अनुदान र ऋण नलिए पनि अब बैकसंग कारोबार गर्ने योजना बनाएको कालिका दर्शनलाई बताउनु भयो ।