
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दल बाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।
निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा बागलुङमा क्रियाशील रहेका १३ दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख नारायणदत्त शर्माका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले १३ दलले मात्र चिन्हका लागि विवरण बुझाएका हुन् ।
उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो । दल दर्ता गराउनेमा राष्ट्रिय जनमोर्चा, उन्नत लोकतन्त्र पार्टी, सामाजिक एकता पार्टी, विवेकशिल साझा पार्टी, नेकपा माले, नेपाली कांग्रेस (विपी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाईजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दलित पार्टी, नेपाल परिवार दल र मौलिक जरोकिलो पार्टी रहेको शर्माले जानकारी दिनुभयो ।
राष्ट्रिय पार्टीको मान्यता नपाएपनि बागलुङमा तेस्रो शक्तिको रुपमा रहेको राष्ट्रिय जनमोर्चाले पनि आफ्नो चिन्हका लागि दल दर्ता गराएको छ । यसअघी २०७४ सालमा भएको निर्वाचनमा बागलुङमा आठ दल निर्वाचनमा सहभागी भएका थिए । निर्वाचन कार्यालयका अनुसार स्थानीय तह निर्वाचन कार्यक्रमको तयारी तिब्र बनाइएको छ ।