घर घर जाऔं काँग्रेस जिताऔं अभियान पर्वतमा तिव्र

-


     कालिका दर्शन     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


गोविन्द अधिकारी,पर्वत/ नेपाली काँग्रेसको देशब्यापी अभियान घर घर जाऔं काँग्रेस जिताऔं अभियान पर्वतमा तिव्रता साथ सञ्चालन भैरहेको छ । यसै क्रममा कुश्मा नगरपालिका–३, दुर्लुङमा पनि अभियानको सुरुवात गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले नेपाली काँग्रेसले जे बोल्छ त्यही गर्ने र जे गर्छ त्यही बोल्ने पार्टी भएकाले कम्युनिस्टका झुटा आश्वासनमा नबिक्न कार्यकर्तालाई ध्यानाकर्षण गराउनुभएको छ ।
जोशीले घर घर जाऔं काँग्रेस जिताऔं अभियानलाई सफल बनाउन घरघरमा पुगेर जनताका समस्याहरु टिपोट गरि समाधान तर्फ लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ । बोल्ने भन्दापनी काम गर्न तर्फ लाग्नुपर्नेमा जोड दिदै जोशीले स्थानिय तहको निर्वाचनमा पार्टीलाई भोट नदिने र अन्तरघात गर्नेलाई बिशेष कार्यक्रम आयोजना गरि एक हातले क्रियाशिल सदस्यता फिर्ता लिने र अर्को हातले खादा, अबिर र माला लगाएर पार्टीबाट बिदाइ गर्ने योजना रहेकाले त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । केपी ओलीले रेल, पानीजहाज, घरघरमा ग्याँसको पाईप ल्याउँछु भनेर जनतालाई झुक्काएजस्तो काँग्रेसले नझुक्काउने जोशीले बताउनुभयो ।
दुई तिहाईको वहुमत पाएको कम्युनिष्ठ सरकार उसका लागि र देशका लागि राम्रो अवसर प्राप्त भएपनि वहुमतको सरकार ढालेर देशमा अस्थिरता निम्ताएको बताउनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि शिव शर्मा अधिकारी र लेखनाथ पौडेल, दुर्लुङका लागि जिल्ला प्रतिनिधि तथा नेपाली काँग्रेसका जिल्ला सदस्य भोर्ले सार्की, पार्टीका कुश्मा नगर सभापती किशोर भण्डारी, दुर्लुङका लागि प्रदेश प्रतिनिधि सुरेन्द्र केसी, नगर प्रतिनिधि सुरेन्द्र पौडेल, प्रजातन्त्रवादी प्राध्यापक संघ पर्वतका अध्यक्ष नवराज शर्मा, पार्टीका नगर सदस्य पुरुषोत्तम आचार्य, नेपाल महिला संघ दुर्लुङका अध्यक्ष हिरा थापा मगर, दुर्लुङका पुर्व पार्टी सभापति शेरबहादुर क्षेत्री, पुर्व पार्टी सचिव रेश्मिराज शर्मा, वार्ड अध्यक्षका प्रत्यासी कृष्ण प्रसाद उपाध्याय, स्थानीय नेता ख्याम बहादुर गुरुङ, टोल संयोजकहरु प्रीतम गुरुङ, योगेश गुरुङ, सुकलाल सार्की, लेखबहादुर हमाल, दलबहादुर क्षेत्री, नारायण पाध्या, बैंसलाल बिक, युवा नेता बल बहादुर क्षेत्री, समाजसेवी तुलसी प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
्कुश्मा नगरपालीका–३, दुर्लुङ का पार्टी सभापति लेख बहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा वार्डका पार्टी उपाध्यक्ष कमल पौडेलले स्वागत, वार्डका पुर्व पार्टी सचिव कुलराज पोख्रेलको धन्यवाद मन्तव्य र दुर्लुङका पार्टी सहसचिव रामशरण पोख्रेलले संचालन गर्नुभएको थियो । सो कार्यक्रमका अवसरमा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १० जनाले पार्टी सभापती युवराज जोशीको हातबाट नेपाली काँग्रेसको साधारण सदस्यता लिएका छन ।