बागलुङमा कोरोना संक्रमितको संख्या शुन्यमा

-


     कालिका दर्शन     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


बागलुङमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ । कोरोना संक्रमण शुरु भएदेखि नै उच्च जोखीममा रहेको बागलुङमा हाल सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको छ ।
जिल्लाका बिभिन्न अस्पतालमा रहेका आइसोलेशन र होम आइसोलेशनमा रहेका सवै बिरामी निको भएपछि सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको र संक्रमित मुक्त जिल्ला बनेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कुनै पनि स्थानीय तह र कुनै पनि वडामा सक्रिय संक्रमित नभएको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बागलुङमा हालसम्म पिसीआर एन्टीजेन गरि ३० हजार १ सय ८१ जनाको कोरोना परिक्षण गरिएको छ ।
२४ हजार ८ सय ६ जनाको पिसीआर र ५ हजार ३ सय ७५ को एन्टीजेन बिधीवाट परिक्षण गरिएको घिमिरेले जानकारी दिनुभयो । जिल्लामा पिसीआरबाट ६ हजार ९ सय ५४ र एन्टीजेनबाट २ हजार ७० गरि ९ हजार २४ जनामा कोरोना पुष्टि भएको, ८ हजार ९ सय ५२ जना कोरोना मुक्त भएको र ७२ जनाको निधन भएको कार्यालयले जनाएको छ ।