सोमबारदेखि बागलुङमा व्यवसायीक पर्यटन व्यवस्थापन तालिम

-


     कालिका दर्शन     
     चैत्र १३ गते २०७८ मा प्रकाशित


पर्यटन क्षेत्रमा रहेका व्यवसायीहरुका लागि ३ दिने क्षमता अभिबृद्धि सम्बन्धि तालिम सोमबार बागलुङको होटल समिट धौलागिरीमा हुने भएको छ । पर्यटन म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मीले सो तालिममा सहजिकरण गर्नु हुने छ । तालिमको गण्डकी प्रदेशका पर्यटन मन्त्रि मणिभद्र शर्मा कडेलले उद्घाटन गर्नु हुने जनाइएको छ ।
होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्ड तथा पर्यटन कार्यालय पोखराको सहयोगमा सो कार्यक्रम संचालन हुदैछ । तालिमको व्यवस्थापन होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, बागलुङ तथा बागलुङ पर्यटन विकास समितिले गर्नेछन । तालिममा करिब ५० जना व्यवसायी सहभागी हुदैछन ।

सो तालिममा बागलुङ सहित पर्वत र म्याग्दी जिल्लाका पर्यटन क्षेत्रका होटल, यातयात, होमस्टे, धार्मिक क्षेत्र आदीमा संलग्न व्यवसायीहरुले समेत भाग लिने होटल व्यवसायी महासंघ, प्रदेश समितिले जनाएको छ ।
होटल व्यवसायी महासंघ प्रदेश समितिका अध्यक्ष अर्जुन चोखालका अनुसार पर्यटन क्षेत्रसंग प्रत्यक्ष जोडिएको होटल व्यवसायलाई बदलिदो परिवेश अनुसार आधुनिक शैलीमा व्यवसाय संचालन गरी पर्यटकहरुको मन जित्ने गरी कार्य गर्न व्यवसायीहरुलाई प्रेरित गर्नु आयोजकको उद्धेश्य रहेको छ ।

बागलुङका १० वटै पालिकाहरुबाट सहभागीता जुटाउने प्रयास भएको र व्यवसायीहरुको कार्यशैली तथा गुणस्तर सुधारमा तालिम उपयोगी हुने चोखालको विश्वास छ ।
होटल व्यवसाय बिगतमा घरेलुमा दर्ता भएर चलेकोमा अबका दिनमा पर्यटन कार्यालयमा दर्ता गरी पर्यटन मैत्री शैलीमा संचालन गर्ने व्यवसायीहरुले बताएका छन । तालिम यही चैत्र १४,१५ र १६ गते सम्म चल्ने चोखालले जानकारी दिनु भयो ।