बागलुङ सदरमुकाममा पुरानो बिद्यालयको रुपमा रहेको बिद्या मन्दिर मा.बि.ले उच्चतम व्यवस्थापनको कार्यलाई अगाडी बढाएको छ । सो विद्यालयमा भुकम्पका कारण क्षतिग्रत भएका संरचनाहरुलाई बिस्तारै पुनर्निर्माण गरी भौतिक पूर्वाधारका काम धेरै जसो पुरा भएका छन । यसै क्रममा करिब ३ महिना अगाडी गठन भएको बिद्यालय व्यवस्थापन समितिले हालसम्म भएका कार्यहरु र आगामी योजनाहरुका बारेमा सोमबार पत्रकार सम्मेलन गरी जनसमक्ष सार्बजनिक गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यका अनुसार पछिल्लो समिति गठन भएपछी सिसि क्यामरा जडान, Smart School software जडान, Website निर्माण, कक्षा इन्चार्जको व्यवस्था, सभाहल निर्माण, सरसफाई (शौचालय) उचित व्यवस्थापन, जंग फुड निशेधित क्षेत्र घोषणा, बिद्यार्थी कल्याण कोषको स्थापना गरिएको बताउनु भयो । उहांले नयां शैक्षिक सत्रमा कक्षा १ देखि ८ सम्म अंग्रेजी माध्यमबाट कक्षा संचालन, विपन्न बर्गका बिद्यार्थीहरुलाई सम्पूर्ण निशुल्क व्यवस्था, बिज्ञान ११ कक्षामा डिजिटल कक्षा कोठाको व्यवस्था ICT ल्याबको निर्माण, E पुस्तकालयको निर्माण र आधुनिक कम्प्युटर ल्याब निर्माण गरिने बताउनु भयो ।
पत्रकारहरुसंगको भेटवार्तामा अध्यक्ष शाक्यले हाल विद्यार्थीहरुको संख्या १३०० रहेकोमा आगामी बर्ष यो संख्या २००० पुर–याउने लक्ष्य रहेको बताउनु भयो । बिद्यालयमा हरेक दिन जसो विद्यार्थीहरु घाइते भैरहने देखिएकाले स्टाफ नर्श सहितको प्राथमिक उपचार कक्ष स्थापना गरिएको बताउनु भयो । शाक्यका अनुसार विपन्न ५० विद्यार्थीहरुको बिमा गर्ने, होस्टेलको २० कोटालाई बृद्धि गर्ने, बिद्यालयलाई प्रविधि मैत्री बनाउने लगायतका कार्यलाई अगाडी बढाउन लागेको जानकारी दिनु भयो ।
शाक्यले विद्या मन्दिरलाई आफ्नो कार्यकालमा नमूना विद्यालय बनाउने प्रतिबद्धता व्यक्त गर्दै पैसा कै कारणले कुनै पनि विद्यार्थी पढ्नबाट बन्चित नहोस भनेर आफु सचेत रहेको र विपन्न विद्यार्थीलाई सहयोग गर्ने बताउनु भयो । बिद्यालय व्यवस्थापन समितिका सदस्य मुकेशचन्द्र राजभण्डारीको स्वागत र प्रधान अध्यापक शान्तमणी शर्माको संचालनमा पत्रकार सम्मेलन भएको थियो ।