एमाले बागलुङले बनायो वार्ता टोली,एकैदिन छान्दै उम्मेदवार

-


     कालिका दर्शन     
     चैत्र २१ गते २०७८ मा प्रकाशित


नेकपा एमाले बागलुङले स्थानीय निर्वाचनका उम्मेदवार एकैदिन छान्ने भएको छ । जिल्लाका १० वटै पालिका र वडाध्यक्ष पदका उम्मेदवार स्थानीय कमिटी मार्फत एकैदिन छनौट गर्ने एमाले जिल्ला अध्यक्ष हिरावहादुर केसीले वताउनुभयो ।
सदरमुकाम बागलुङ बजारमा आईतवार सम्पन्न एमाले जिल्ला कमिटीको दोस्रोपूर्ण बैठकले चैत २४ गते ८५ वटै वडा कमिटीको बैठक गरी स्थानीय निर्वाचनका लागि वडाध्यक्ष र सदस्यहरुको सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, चैत २७ गते १० वटै पालिका कमिटीको बैठक गरी प्रमुख र उपप्रमुख सिफारिस गर्न स्थानीय कमिटीलाई निर्देशन गरेको छ । आफ्ना वडा र पालिकाका उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत रुपमा आवश्यक उम्मेदवार मात्रै सिफारिश गर्न निर्देशन गरेको एमाले जिल्ला सचिव विष्णु भुसालले वताउनुभयो ।
सर्वसम्मत हुन नसकेमा बढिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न पार्टीले भनेको छ । एमालेले वडाध्यक्ष र सदस्यको सिफारिश सुरु तहको कमिटी वडामार्फत सिफारिस गर्ने र जिल्ला कमिटीले अन्तिम टुंगो लगाउने विधि बनाएको छ ।
स्थानीय निर्वाचनमा जिल्लामा बामपन्थी एकतालाई प्राथमिकतामा राख्दै एमालेले अन्य दलसंग चुनावी एकता गर्नका लागि पार्टीका केन्द्रिय सदस्य गोविन्द नेपालीको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली पनि गठन गरेको छ ।
वार्ता टोलीका सदस्यहरुमा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, प्रदेस सदस्य जनकराज पौडेल, देवकुमार नेपाली, डिल्लीराज गौतम, जिल्ला अध्यक्ष हिरावहादुर केसी र सचिव विष्णु भुसाल रहनु भएको छ ।