प्रगति आधारभुत विद्यालय मल्मको ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेला

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


गलकोट चैत २२
गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्नको निमित्त शिक्षक विद्यार्थी र अभिभावक बिचको सम्वन्ध सुमधुर हुनुपर्ने बताउनु भएको छ ।

प्रगति आधारभुत विद्यालय मल्म, सप्ताहघाटको ३१ औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्वोधन गर्दै वडा अध्यक्ष थापाले अभिभावकले समय समयमा विद्यालयमा निरिक्षण गरि वस्तुस्थितीको बारेमा जानकार हुनुपर्ने उल्लेख गर्नुभयो । वडा अध्यक्ष थापाले भन्नुभयो ूत्रिपक्षिय सम्वन्ध राम्रो भएमा मात्रै सरकारले शिक्षामा गरेको लगानीले सहि प्रतिफल दिन्छ र शैक्षिक गुणस्तर अभिवृद्विमा टेवा पुर्याउँदछू ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापा, विद्यालयका जग्गादाता तथा अक्षयकोषकर्ता थुम कुमारी थापा र विद्यालय व्यवस्थापन समितीका सदस्य तथा जग्गादाता टिका बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा एकता युवा मञ्च मल्मले २०७३ सालमा स्थापना गरेको रु १ लाखको शैक्षिक अभिवृद्वि अक्षयकोष मार्फत जेहेन्दार तथा विपन्न विद्यार्थीहरु सुसान विक, शुष्मा कार्की र प्रकाश विकलाई मञ्चका सह कोषाध्यक्ष भूमिराज थापाले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । विद्यार्थीलाई शैक्षिक क्षेत्रमा थप आकर्षण गरि शैक्षिक गुणस्तर अभिवृद्वि गर्न जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय मल्ममा रु १ र १ लाखको शैक्षिक अक्षयकोष स्थापना गरेको मञ्चका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

वार्षिकोत्सव तथा अभिभावक भेलामा शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरु र अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भनें विद्यालयको वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अभिभाव बिचको कुर्सी रेस प्रतियोगितामा जमुना चोखाल प्रथम, पवित्रा केसी र तृतीय अनिता थापा हुनुभएको थियो ।

कार्यक्रम प्रगति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्मका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, शिक्षक केशव पौडेलको स्वागत मन्तव्य र शिक्षक सिर्जना घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।