बागलुङका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०७८ मा प्रकाशित


बागलुङका स्थानीय तहमा गठित न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन् ।
जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा परिपक्वता भेटिएको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको टोलीले शनिबार र आइतबार जिल्लाको दक्षिणका दुई स्थानीय तहमा पुगेर न्यायिक समितिको अनुगमन गरेको थियो ।
जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको न्यायिक समितिको अनुगमनका क्रममा भए गरेका काम सन्तोषजनक भेटिएको न्यायधिश न्यौपानेले बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले दलीय पूर्वाग्रह राख्छन् र न्याय सम्पादन निष्पक्ष हुँदैन भन्ने चर्चा भएपनि त्यस्तो नभएको न्यायाधीश न्यौपानेको भनाई थियो ।
अनुगमनपछि न्यायाधीश न्यौपानेले यो पाँच वर्षको बीचमा न्यायिक समितिले गरेका निर्णयहरूको पुनरावेदन गर्नु नपरेको पनि बताउनुभयो । न्यायिक समितिले गरेको फैसलामा चित्त नबुझेमा फैसला भएको मितिले ३५ दिनभित्र जिल्ला अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो ।
पाँच वर्षको अवधिमा त्यस्ता मुद्दा नगण्य रहेको जिल्ला अदालतको तथ्यांक रहेको छ । स्थानीय तहको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन न्यौपानेले सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
जैमिनी नगरप्रमुख इन्द्रराज पौडेलले न्यायिक समितिले गरेका कामका कारण कुनैपनि दलीय आरोप आउने वातावरण नरहेको बताउनुभयो । न्यायिक समितिका संयोजक र सदस्यहरूको मेहेनेत र बुद्धिमत्ताले सर्वसाधारणले प्रश्न आउने वातावरण नरहेको उहाँको धारणा थियो ।
बरेङ गाउँपालिकाका उपप्रमुख दिलकुमारी पुनले न्यायिक समितिमा आएका मुद्दामध्ये पाँच वर्षमा एउटा मात्रै मुद्दा पुनरावेदन भएको बताउनुभयो । बरेङमा पनि पाँच वर्षमा १३ मुद्दाको मेलमिलाप र ६ मुद्दाको छलफल गरेर टुंगो लगाइएको तथ्यांक छ ।
जैमिनीले पाँच वर्षमा २१ मुद्दा दर्ता भएका थिए । तीमध्ये एउटा मुद्दा अदालतमा र तीनवटा मुद्दाको फैसला हुन बाँकी छ । बाँकी सबै मुद्दा मेलमिलापमार्फत टुंगो लगाइएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख लीला रानाले बताउनुभयो ।