बागलुङ नगर क्षेत्रमा माओबादीको वडा भेलाहरु जारी

-


     कालिका दर्शन     
     चैत्र २३ गते २०७८ मा प्रकाशित


नेकपा माओबादी केन्द्र, बागलुङ नगर समितिको संयोजनमा वडा भेला तथा बैठकहरु धमाधम चलिरहेका छन । आगामी बैशाकमा हुने स्थानीय चुनावलाई ध्यानमा राखेर ति भेलाहरु भएका हुन । भेलामा बिगतको समिक्षा, बर्तमान अबस्थाको अध्ययन र भावी योजनाका बारेमा छलफल भैरहेको सो पार्टीले जनाएको छ ।
यसै क्रममा पछिल्लो समय बानपा ३, ६ र ९ मा वडा भेला तथा बैठकहरु सम्पन्न भएका समाचारहरु प्राप्त भएका छन । बानपा ३ को भेलाले वडा समिति अध्यक्ष राजन सापकोटाको अध्यक्षतामा १ सय १ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ । सुधिर श्रेष्ठको संयोजनमा युवा परिचालन समिति, बिन्दुसागर राजभण्डारी र राजु गौतमको संयोजनमा आर्थिक व्यवस्थापन समिति, तुलसीनारायण भारीको संयोजकत्वमा नेवा मुक्ति मोर्चा लगायतका समितिहरु गठन गरिएको वडा समिति अध्यक्ष सापकोटाले जानकारी दिनु भयो । सो भेलामा नेता बाबुलाल शाक्य, नगर कोषाध्यक्ष धनमाया शर्मा, नगर सदस्य निरज शाक्य र वडा समिति अध्यक्ष सापकोटाले वडा अध्यक्षका लागि सहभागिहरुका माझ रुचि देखाउनु भएको छ ।
यसै गरी बानपा ९ तित्याङमा भएको भेलाले नगर समिति सदस्य टिकाराम शर्माको संयोजनमा ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ । सो भेलामा शर्मा सहित ५ जनाले जनप्रतिनिधी हुनका लागि रुचि देखाउनु भएको छ ।
यसै गरी बानपा ६ मा भएको भेलाले वडा समिति अध्यक्ष भवानी शंकर सापकोटाको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको सचिव शान्त नेपालीले जानकारी दिनु भयो । सो वडामा माओबादी केन्द्रबाट जनप्रतिनिधी बन्नका लागि नगर सदस्य कविराम किसान, गणेश किसान, कृष्ण सापकोटा, जुना कुमारी नेपाली, भवानीशंकार सापकोटा, शान्ता नेपाली, गुरु प्रसाद सापकोटा लगायतले रुचि देखाउनु भएको बताइएको छ ।