बागलुङ कालिका मन्दिर धार्मिक आस्थाको केन्द्र त हुदै हो, साथै ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक रुपमा पनि यो मन्दिरको विशेष महत्व रहि आएको छ । सोहौं शताव्दीको अन्त्यतिर करिव १५९१ सालताका कालिका मन्दिर स्थापना भएको मानिएको छ । पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मुकुन्दसेनकी राजकुमारीसंग बिवाह हुदा पाल्पाको सेनदरवारबाट ल्याइएको देवीको मुर्ति हालको कालिका मन्दिर भएको स्थानमा प्रतिष्ठा गरिएको बताइएको छ ।
श्रृतिस्मृति अनुसार पाल्पाली राजुकुमारी कालिका देवीकी अनन्य भक्त थिइन । उनले दरवारमा नियमित देवीको सेवा गर्थिन । राजकुमारीले देवीको प्रत्यक्ष दर्शन पाउथिन पनि भनिन्छ । बिवाहपछी बाबुको अनुमतिमा देवीको मुर्ति आफुसंगै राजकुमारीले पर्वत लैजाने निधो गरिन । पाल्पाको सेनदरवारमा बैवाहिक कार्यक्रम सम्पन्न भएपछी जन्ती पर्वत फर्कन लाग्दा कालिका देवीको मुर्ति र खड्ग उठ्न सकेन । धेरै व्यक्तिहरुले देवीको मुर्ति र खड्ग उठाउन नसकिरहेको अवस्थामा दरवारमा देखा परेका शिकारी भेषका व्यक्तिलाई देवीको खड्ग उठाउन अनुरोध गरियो । ति शिकारी भेषधारी व्यक्तिले खड्ग उठाउन सके । त्यसपछी मगरहरुले डोली उठाए र जन्ति सेनदरवारबाट पर्वत हिड्यो ।
हालको कालिका मन्दिर रहेको स्थानमा आएपछी फेरी देवीको डोली उठेन । यस स्थानबाट देवीको डोली नउठेपछी देवीले यसै स्थानमा बस्न मन गरेको बुझेर राजा र राजकुमारीले हालको कालिका मन्दिर रहेको स्थानमा देवीको मन्दिर बनाउन लगाए । खड्ग समाती आउने व्यक्ति जो चक्र पुवार थिए, उनलाई खड्का पद्वी दिएर पुजारी बनाए । बागलुङ चौर (हालको बागलुङ बजार क्षेत्र) लाई गुठी बनाई मन्दिरको नियमित पूजा आजाको व्यवस्था मिलाए । मल्ल राजाले पुजारी बनाएका चक्र पुवारपछी निरन्तर उनका सन्तानले देवीको पुजा र सेवा गर्न थाले । उनै चक्र पवारका सन्तान हालका पवार खड्का दाजुभाई हुन ।
कालिका मन्दिर रहेको स्थानको कुरा गर्दा उत्तर पूर्व पवित्र कालिगण्डकी नदि, दक्षिण काठेखोला र पश्चिम तर्फ बागलुङ बजार रहेको छ । मन्दिरको प्रवेशद्धार नजिकबाट राष्टिय राजमार्ग मध्यपहाडीले छोएको छ । पोखराबाट करिब ७० किलोमिटर नजिक रहेको कालिका मन्दिरको पूर्व र उत्तर तर्फबाट मुक्तिनाथ जाने बाटो रहेको छ । कालिका मन्दिर करिब १९० रोपनी क्षेत्रमा रहेको छ । यो क्षेत्रको अधिकांश भाग बन जंगल रहेको छ । यो जंगलमा करिब २ सय रुखबिरुवा, जडिबुटी रहेका छन । यहां चितुवा सहित धेरै जातिका जंगली जिवजन्तुहरु पनि देखिने गर्छन ।
हाल निर्माणको आखिरी चरणमा रहेको कालिगण्डकी कोरिडोरले कालिका मन्दिरको सम्भावनालाई नयांचिराबाट प्रस्तुत गरेको छ । यो बाटोको उत्तरमा मुक्तिनाथ र दक्षिणमा लुम्बिनी रहेकाले भारतियहरुको अगाथ आस्था रहेको मुक्तिनाथ यसै बाटो हुदै कालिका मन्दिरको भूमिबाट जान सकिन्छ भने उत्तर देखि गौतम बुद्धको दर्शन गर्न जाने चिनियांहरु पनि यसै बाटो हुदै कालिका मन्दिरको भूमि छोएर जानु पर्छ । यस हिसावले पनि यो स्थान धेरै सम्भावना बोकेको र धेरै महत्वपूर्ण रहेको छ ।
कालिका मन्दिरका पुजारीले हरेका दिन कालिगण्डकी नदीमा गई स्नान गरी कालिगण्डकीको जलले देवीलाई नुहाउने गर्दछन । हरेक बिहान र सांझ श्रीमहाकालि, महालक्ष्मी, महासरस्वती, शिव र गणेश सहितका देवताहरुको पुजा गरिन्छ । कालिका मन्दिरमा शनिवार र मंगलबार तथा अष्टमी तिथीमा विशेष पूजा हुने गर्दछ । शनिवार तथा पर्व विशेषमा भजन किर्तन हुने गर्दछ ।
बर्षमा २ पटक बडा दशैं र चैते दशैेंको अवसरमा कालिका मन्दिरमा भव्य पुजा आजा हुने गर्दछ । यो समय नवदुर्गा भवानीको पुजा, पाठ गर्ने, पन्चबली दिने, ग्रहदशा कटाउने लगायतका धार्मिक कार्यहरु भक्तजनहरुबाट हुने गर्दछन । यो समयमा कालिका मन्दिरमा पुजा पाठ गर्न भक्तजन एवं दर्शनार्थिहरु स्वदेशका विभिन्न स्थान तथा विदेशबाट समेत आउने गर्दछन । चैत्रशुक्ल प्रतिपदा देखि दशमीसम्म कालिका मन्दिर परिसर तथा बाङ्गेचौरमा मेला लाग्ने गर्दछ । श्रद्धालु भक्तजनहरु आफ्नो मनोकामना पुरा होस भनी भक्तजनहरु मन्दिर आउने गर्दछन ।
कालिका मन्दिरको स्थापनासंगै अस्तित्वमा आएको चैत्राष्टमी मेला देशकै ठूलो सांस्कृतिक पर्व हो । चैत्रशुक्ल अष्टमी अर्थात चैतेदशैंका अवसरमा पर्वतका राजाहरु बागलुङ बजार आउने, देवीको दर्शन गर्ने, धार्मिक अनुष्ठानादि गर्ने, जनताका पिरमर्का बुझ्ने, आफ्ना भनाईहरु राख्ने, बन्द व्यापार हेर्ने तथा जनताहरुको सामिप्यमा रहने गर्दथे । यसो हुदै चैत्राष्टमी मेला आजको यो अवस्थासम्म आइपुगेको अनुमान गरिन्छ ।
चैतेदशैंमा नयां तथा पुराना लोक भाका सुन्न पाइन्छ । धेरै बर्ष पहिले कैयौं दिनसम्म लोक तथा दोहोरी गीतमा पारखीहरु रमाएको सुनिन्थ्यो । चैतेदशैंको महत्वपूर्ण विशेषता स्थानिय उत्पादनको प्रदर्शन र विक्री पनि हो । यो समय घरेलु सामाग्रीहरुको किनवेच उल्लेख्य मात्रामा हुने गर्दछ । खास गरीकन मन्दिरमा पुजा आजा, लोक सस्कृति प्रदर्शन र स्थानिय उत्पादनको खरिद विक्री यो मेलाको विशेष पक्ष रहेको छ ।
पछिल्लो समय कालिका भगवती गुठीको संयोजनमा यो मेला संचालन हुदै आएको छ । मेलामा लोक दोहोरी गित प्रतियोगिता, परम्परागत छेलो प्रतियोगिता, भलिबल प्रतियोगिता, भजन प्रतियोगिताहरु समावेश गरिन्छ । यसैगरी स्थानिय तथा व्यवसायिक कलाकारहरुको सांगितिक प्रस्तुति पनि समावेश गरिन्छ । (राजु खड्का,बानपा -३ गुठी)