बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिवार १८औं बिश्वशान्ति गण्डकी महासभा सम्पन्न भएको छ । महासभामा कालिगण्डकीको महिमा र महत्वसंगै यस क्षेत्रको धार्मिक महिमाको बारेमा प्रबचन गरिएको थियो । कार्यक्रममा चेतनारायण लामिछाने र भानुभक्त आचार्यले कालिगण्डकीसंगै यो क्षेत्रमा रहेका धार्मिक सम्पदाहरुको संरक्षण र विकासमा जोड दिदै धर्म संरक्षणमा मानव जातिले पालन गर्नु पर्ने आचारणका बारेमा चर्चा गर्नु भएको थियो ।
सभामा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले धर्म र सम्पदाको विकासमा युवासंगै अन्य क्षेत्र, सस्था तथा उत्पादनलाई जोड्दै धार्मिक संघ सस्थावीच आपसी समन्वयको खाचो रहेको औल्याउनु भयो । उहांले बागलुङ नगर क्षेत्रमा रहेका पर्यटकिय गन्तव्यहरुको विकासमा सबैको साझा सक्रियता, सहभागिता र नेतृत्वको आवश्यकता रहेको बताउनु भयो । अव नगर क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकिय गन्तव्यहरुको प्रबद्र्धन र प्रचार प्रसार गर्ने उद्धेश्यले तयार गरिएका गित, संगित तथा भिडियोहरुलाई मूल्याङ्कन गरी सम्मान र प्रोत्साहन गरिने खड्काले बताउनु भयो ।
सो अवसरमा बागलुङ तथा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, पञ्चकोट धामका शालिग्राम सापकोटा, महासचिव माधव उपाध्याय, सचिव नारायण आचार्य तथा बागलुङ जिल्ला भजन समितिका अध्यक्ष टेक बहादुर केसी संगमले शुभ कामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मालढुङ्गा कटेसी घुम्ति घुम्ति रोड, आहा क्या राम्रो बागलुङ पञ्चकोटका गायक रवि कार्कीलाई सम्मान गरिएको थियो । बानपा ६ मा अवस्थित प्रसिद्ध पञ्चकोट धामको स्वदेश तथा विदेशमा प्रचार प्रसार गर्न उल्लेखित गित सिर्जना गरी गाउने कार्किको योगदानलाई मूल्याङ्कन गरी बागलुङ नगरपालिकाको नगर उप प्रमुख पर्यटन विकास कार्यक्रमबाट उहांलाई सम्मान गरिएको थियो । गायक कार्कि बागलुङको छिमेकी जिल्ला म्याग्दी स्थित बेनी नगरपालिका वडा नं.९ निवासी हुनुहुन्छ ।महासभामा सम्मानित कलाकार रवि कार्की, जिल्ला भजन समूह तथा पञ्चकोट भजन समूहका कलाकारहरुले सांगितिक प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।