बागलुङ नगरपालिकामा ३ दिने च्याउ खेती तालिम

-


     कालिका दर्शन     
     असार ३ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले आइतबार देखि ३ दिने व्यवसायिक च्याउ खेती तालिम शुरु गरेको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले च्याउ खेती तालिम पछी सहभागीहरुलाई व्यवसायिक रुपमा योजना बनाएर काम गर्न आग्रह गर्नु भयो । उहांले बागलुङ नगरपालिकालाई तरकारीको आत्मनिर्भर नगरको रुपमा स्थापित गर्न प्रयास भैरहेको समयमा यो तालिमले थप योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा नगर उप–प्रमुख राजु खड्काले घरमै बसेर सानो क्षेत्रफलमा गर्न सकिने च्याउ खेतीबाट हामीले मनग्य फाइदा लिन सकिने सम्भावना रहेको बताउनु भयो । उहांले तालिमसंगै च्याउ खेती, उत्पादन, बजार तथा रोग लागेमा नियन्त्रणसम्मको ज्ञान लिनु पर्ने बताउनु भयो ।
बानपाको कृषि शाखा प्रमुख सुवास सापकोटाका अनुसार तालिममा ३० जना सहभागी हुनुहुन्छ । तालिममा रोग किरा व्यवस्थापन, कन्य, सिताके, गोर्वे च्याउ खेती प्रविधी र च्याउ घर निर्माण सम्बन्धि तालिम दिइने जानकारी दिनु भयो । आर्थिक विकास समिति अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजिकरण समितिका सचिव प्रेम प्रसाद शर्माले गर्नु भएको थियो ।