बागलुङ नगरपालिका, २०५३ सालमा स्थापित भई २०५४ सालको स्थानीय निर्वाचन पश्चात कार्यसञ्चालनमा आएको साविक धौलागिरीको पहिलो नगरपालिका हो । उपभोक्ता हकहितका सम्बन्धमा पछिल्लो समयमा नेपालको संविधान २०७२, उपभोक्ता संरक्षण ऐन २०७५ समेतबाट उपभोक्ता हक हित सम्बन्धी सिद्धान्तहरु र उपभोक्ताको अधिकारहरु, उत्पादक तथा विक्रेताका कर्तव्य र कसुर अनुसार दण्ड जरिवाना सहितको कानूनी व्यवस्था गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय व्यापार, वस्तुको माग, आपुर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन एवं स्थानीय बजार व्यवस्थापन समेतका कार्यहरु स्थानीय तहलाई हस्तान्तरण गरेको छ । नेपालको संविधान तथा अन्य विभिन्न कानूनले निर्दिष्ट गरे बमोजिम बागलुङ नगरपालिकाले स्थानीय बजार अनुगमन निर्देशिका २०७५ स्वीकृत गरी स्थानीय बजार अनुगमन, व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी कानूनी सचेतना लगायतका विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।
उत्पादक, विक्रेता र उपभोक्ताको सम्मिश्रण नै बजारको पुर्ण रुप हो । बजार व्यवस्थापनका लागि उत्पादक, विक्रेता र उपभोक्ताको अन्योन्याश्रीत र समन्यायिक सम्बन्ध स्थापित भएपछि मात्र बजार स्वच्छ प्रतिस्पर्धि मर्यादित र उपभोक्तामैत्री बन्ने भएकोले स्थानीय बजारलाई स्वच्छ प्रतिस्पर्धि, मर्यादित र उपभोक्तामैत्री बनाउने अभियानमा सबैले आ–आप्mनो क्षेत्रबाट सहयोग गर्नु हुनेछ भन्ने आशा अपेक्षासहित बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समिति हार्दिक अनुरोध गर्दछ ।
बजार के हो ?
कुनै पनि बस्तु, सेवा, परामर्श सेवा, पूर्वाधारजन्य सेवा सुविधा, प्राकृतिक स्रोत साधनको मूल्य लिई वा नलिई खरिद तथा बिक्रि गर्ने स्थान विशेष वा कार्यलाई बजार भनिन्छ । बजारको प्रभावकारीताका लागि उपभोक्ताको चाहना तथा हित अनुकुलको उत्पादन हुन आवश्यक छ । उपभोक्ताको हित विपरित एवं जनस्वास्थ्य प्रतिकुल उत्पादन र बिक्रि वितरणले स्वच्छ, प्रतिस्पर्धि, मर्यादित र उपभोक्तामैत्री बजार व्यवस्थापनमा सहयोग गर्दैन । बजार व्यवस्थापनका लागि उत्पादक, विक्रेता र उपभोक्ताको अन्योन्याश्रीत र समन्यायिक सम्बन्ध स्थापित भएपछि मात्र बजार स्वच्छ प्रतिस्पर्धि, मर्यादित र उपभोक्तामैत्री बन्ने छ ।
स्वच्छ बजार व्यवस्थापनका अवयवहरु
उत्पादन ः– मापदण्ड अनुसार स्वच्छ र ग्राहकको इच्छा अनुसारको हुनु पर्दछ
बिक्रि ः– विश्वासनीय र पारदर्शी हुनु पर्दछ
वितरण ः– समानता र विश्वासनीयतामा आधारित हुनु पर्दछ
बजारीकरण ः– नैतिकता र विश्वसनीयतामा आधारित हुनु पर्दछ
सामाजिक उत्तरदायित्व ः– निरन्तर बहन गर्ने खालको हुनु पर्दछ
उपभोक्ता हितसँग सम्बन्धित आधारभूत सिद्धान्तहरु
क) मालसामान खरिद गर्दा क्रेता नै सजग हुनुपर्छ
ख) उत्पादक वा विक्रेता जिम्मेवार हुनुपर्छ
ग) उपभोक्ता सधैं सार्वभौम हुन्छ
घ) सबैमा सम्मानको भाव हुनु पर्दछ
उपभोक्ता हितसंग सम्बन्धित सवैधानिक व्यवस्था
नेपालको सविधान २०७२ को धारा ४४ गरेको उपभोक्ताको हकहित सम्बन्धी व्यवस्था
१. प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ ।
२. गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
बजार अनुगमन सम्बन्धी व्यवस्था
क) उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २५ ले व्यवस्था गरेअनुसार केन्द्रिय बजार अनुगमन समिति
ख) उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा २७ ले व्यवस्था गरेअनुसार प्रदेश बजार अनुगमन समिति
ग) गण्डकी प्रदेश सरकारद्धारा जारी बजार अनुगमन नियमावली २०७६, अनुसार जिल्ला बजार अनुगमन टोली
घ) बागलुङ नगरपालिकाद्धारा स्वीकृत बजार अनुगमन निर्देशिका २०७५ ले व्यवस्था गरे बमोजिम
नगर उप–प्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति नगर कार्यपालिकाले तोकेको अधिकृतको संयोजकत्वमा स्थानीय बजार अनुगमन टोलीको व्यवस्था गरिएको छ ।
व्यवसायी वर्गमा हाम्रो अनुरोध
क) सम्बन्धित निकायमा व्यवसाय दर्ता गरेर मात्र व्यवसाय गरौं ।
ख) व्यवसायको परिचय खुल्ने साइन बोर्ड राखौं ।
ग) सर्वसाधारणले देख्ने स्पष्ट बुझ्ने गरी दैनिक उपभोग्य वस्तुको मूल्यसूची राखौं ।
घ) उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर भएको, उपभोग्य वस्तुको होलसेल तथा खुद्रा मूल्य, व्याच नम्बर, उत्पादन मिति र उपभोग्य मिति समेत उल्लेख भएका वस्तुहरु मात्र बिक्रि कक्षमा राखौं र बिक्रि वितरण गरौं ।
ङ) कुनैपनि व्यापारिक वस्तुहरुको खरिद तथा बिक्रि बिल वा रसिद अनिवार्य लिने र दिने गरौं ।
च) बिक्रि कक्षको संगसंगै एक्सपायरी जोन खडा गरौं ।
छ) समय समयमा बिक्रिका लागि राखिएका मालवस्तुको उपभोग्य म्याद भए नभएको जाँच गरौं र म्याद सकिएका वस्तुहरुलाई एक्सपायरी जोन मा राखौं ।
उपभोक्ता वर्गमा अनुरोध
क) मालसामान खरिद गर्दा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर भएको, उपभोग्य वस्तुको होलसेल तथा खुद्रा मूल्य, व्याच नम्बर, उत्पादन मिति र उपभोग्य मिति समेत उल्लेख भएका वस्तुहरु मात्र खरिद गरौं ।
ख) कुनैपनि व्यापारिक वस्तुहरुको खरिद गर्दा अनिवार्य रुपमा खरिद बिल वा रसिद लिने गरौं ।
ग) कानून वमोजिम अनुमति प्राप्त गरी व्यवसाय दर्ता गरेको व्यवसायीसंग मात्र मालसामान खरिद गरौं ।
के हो उपभोग्य र गुणस्तरीय बस्तु ?
कुनै बस्तु तथा सेवा उपभोक्ताको हित हुने र उपभोक्ताको स्वास्थ्य र जीवनमा हानी नपुर्याउने बस्तु उपभोग्य बस्तु हुन् ।
राम्ररी प्याकेजिङ गरिएको, उत्पादन मिति, म्याद गुज्रने मिति, के के बस्तु मिलाएर बनेको विवरण, प्रयोग विधि, कहाँ र कसरी भण्डारण गर्ने विधि, उपभोग वा उपयोग गर्ने तरीका, उपभोगबाट पर्न सक्ने असर, मूल्य, तौल लगायतका अन्य जरुरी विवरणहरु उल्लेख भएका माल सामानहरु मात्र गुणस्तरीय बस्तु हुन् ।
कसुर तथा सजाय सम्बन्धी व्यवस्था
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ विपरित बस्तुको लेवल नलगाएमा र दफा १४ बमोजिम बिक्रेताले तोकेको अवधिभित्र सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको मालसामान सट्टा फिर्ता नदिएमा तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिल बिजक नराखेमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना हुने ।
अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप ऐनको दफा १६ को उपदफा क बमोजिम ढाँटी, लुकाई, छिपाई वा झुक्याई बस्तु वा सेवाको बिक्री वा प्रदान गरेमा, उपदफा (छ) बमोजिम कृत्रिम अभाव सृजना गरेमा, उपदफा (ञ) बमोजिम बिल विजक गर्न इन्कार गरेमा वा बिल जारी नगर्ने वा बिल जारी गर्दा थप रकम माग गर्ने जस्तो कसुर गरेमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने ।
अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप ऐनको दफा १६ को उपदफा (ख) बमोजिम झुठा वा भ्रमपूर्ण विज्ञापन गराएमा, उपदफा (ग) बमोजिम बस्तुको कमसल बस्तुलाई डिजाईन परिवर्तन गराई गुणस्तरीय बस्नु भनि बिक्रि गरेमा, उपदफा (घ) बमोजिम लागतभन्दा बढी भन्दा धेरै मूल्यमा बस्तु बिक्रि गरेमा, उपदफा (ङ) बमोजिम निशुल्क दिनुपर्ने बस्तु वा सेवाको मूल्य जोडी मूल्य लिएमा, उपदफा (च) बमोजिम बस्तुको उपभोगबाट उपभोक्तालाई हानी हुने गरि बस्तु बिक्रि गरेमा, उपदफा (ज) बमोजिम अन्य बस्तुको लागत मूल्य जोडी बस्तु बिक्रि गरेमा, उपदफा (झ) बमोजिम कुनै बस्तुलाई विस्तापित गर्न नक्कली बस्तु उत्पादन गरेमा, उपदफा (ट) बमोजिम उपभोक्तालाई हानी हुने गरि विषादी प्रयोग गरेमा, उपदफा (ठ) बमोजिम गुणस्तरहिन बस्तु पैठारी, उत्पादन र बिक्रि गरेमा, सेवा प्रदायकले तोकिए बमोजिमको समय र गुणस्तरमा सेवा प्रदान नगरेमा, उपदफा (त) बमोजिम तोकिएका व्यापारिक तह भन्दा बढी तह खडा गरि बिक्रि गरेमा र उपदफा (थ) बमोजिम मानक मापदण्ड पूरा नगरी बस्तु वा सेवा बिक्रि गरेमा कसुरदारलाई दुई बर्षदेखि पाँच बर्ष कैद वा चार लाखदेखि छ लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने ।
ऐनको दफा १७ को उपदफा २ को खण्ड ख बमोजिम बस्तु वा सेवा संञ्चित गरि कृतिम अभाव खडा गरेमा, खण्ड (ग) बमोजिम निर्धारित समय वा स्थानमा मात्र बस्तु वा सेवा बिक्रि गर्ने वा यस्तै प्रकृतिको कुनै काम गरि आपूर्तिमा प्रभाव परेमा कसुरदारलाई पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने ।
ऐनको दफा १८ विपरित जानीजानी कमसल बस्तुको उत्पादन, बिक्रि वा पैठारी गर्ने, मिलोमोतोमा कृत्रिम अभाव सृजना गर्ने लगायतका कसुरमा कसुरदारलाई तीन महिनादेखि एक बर्षसम्म कैद वा एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने ।
ऐनको दफा दफा १९ को उपदफा (३) विपरित नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी हुनेगरी बिक्रि गरे वा गराएमा, ऐनको दफा २१ को उपदफा (१) बमोजिम निर्धारित मापदण्ड विपरीत मूल्य निर्धारण गरि बस्तु वा सेवाको बिक्रि वितरण गरेमा कसुरदारलाई तीन महिनादेखि छ महिनासम्म कैद वा पचास हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुने ।
ऐनको दफा ५४ को उपदफा (२) बमोजिम यस ऐन बमोजिम जाँचबुझ, निरीक्षण वा अनुगमनको क्रममा सहयोग नगरेमा कसुरदारलाई बीस हजार रुपैयाँसम्म जरिवाना हुने ।
मुलुकी अपराध संहिता, २०७४
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ मा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरको दफा १०७ खाद्य पदार्थमा मिसावट गर्न नहुने, झुक्यानमा पारी खाद्य पदार्थ बिक्रि वितरण गर्न नहुने, बिक्रि गर्ने उपभोग्यबस्तु बिक्रि नगरी जम्माखोरी गर्न नहुने लगायतका कसुरमा सजायको व्यवस्था गरेको छ ।
खाद्य स्वच्छता
खाद्य स्वच्छता भन्नाले खाद्य पदार्थको निर्देशित विधि अनुसार तयार गरी उपभोग गर्दा उपभोक्तालाई कुनै प्रकारको हानी नोक्सानी नगर्ने अवस्थाको सुनिश्चिततालाई जनाउँछ । यसले उपभोक्ताको स्वास्थ्यको हितलाई ध्यानमा राखी खाद्यवस्तु तयार गर्दा स्वास्थ्यमा नकरात्मक असर गर्न सक्ने कुराको निराकरणका उपाय एवम् विधिहरू समेट्दछ ।
खाद्य स्वच्छता किन ?
स्वच्छ खाद्य वस्तुको उपभोग गर्न पाउने नागरिकको अधिकार हो, यस सम्बन्धी नागरिक अधिकारलाई व्यवस्थित वा नियमन गर्न सरकारले दण्ड सजाय समेतको कानूनी व्यवस्था गरेको हुन्छ । नागरिकको मौलिक अधिकार र कानूनी दायित्व वहन गर्नेगरी स्वच्छ खाद्यान्न उत्पादन र बिक्रि वितरण गर्ने गराउने सम्बन्धित उद्योगी व्यवसायीको दायित्व हुने छ, खाद्य पदार्थ स्वच्छ र खानयोग्य छ छैन भनि जाँच गरी खरिद गर्नु वा खान पाउनु उपभोक्ताको अधिकार र कर्तव्य हुन्छ भने नियमन गर्ने दायित्व सरकारका नियमन निकायहरुको हुनेछ ।
खाद्य स्वच्छतालाई असर गर्नसक्ने हानिकारक तत्वहरू
भौतिक जोखिम जस्तै काँच तथा धातुका टुक्राहरु
रासायनिक जोखिम जस्तै जीवनाशक विषादी, पशु औषधी र तिनका अवशेषहरु
जैविक जोखिम जस्त सुक्ष्म जीव तथा परजिवीहरु
तत्काल बनेका खाद्य पदार्थबाट प्रयोगबाट उत्पन्न हुने जोखिमहरु
तेलको पटक पटक प्रयोगले तुरुन्तै असर नदेखिने, तर पछि मुटु सम्बन्धी रोगहरु र क्यान्सर समेत हुन सक्छ ।
धुवाँमा पकाएका खाद्य पदार्थले स्वास्थ्यमा प्रतिकुल असर गर्छ ।
प्लाष्टिकका कप वा प्लेटमा तातो खानेकुरा प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर गर्छ ।
अखाद्य रंगमा हानिकारक रसायन हुन सक्छ । सो कारणले अखाद्य रंग प्रयोग भएका बस्तुको
पहिचान गरेर उपभोग बहिस्कार गर्नुपर्छ ।
खाद्य पदार्थहरु राख्ने तरिका
पाकेको र नपाकेको सबै खाद्य पदार्थलाई छोपेर राख्ने
एउटा खाद्य पदार्थको माथि अर्को खाद्य पदार्थ नराख्ने
राखेको वा प्रयोग गरेको खाद्य सामाग्रीहरुको उत्पादन मिति, उपभोग्य मिति, बेस्ट बिफोर मेनुफेक्चोरिङ्ग र प्याकेजिङ्ग ठीक छ छैन जाँच गर्ने
फुड ग्रेड प्लाष्टिक वा स्टिलको डब्बामा मात्र राख्ने
प्लाष्टिकको थैलीमा सामान राख्न नहुने (भरसक नराख्ने)
किराना व्यवसायीहरुले पालना गर्नुपर्ने सामान्य नियमहरु
म्याद नाघेको खाद्य सामाग्रीहरु नियमित रुपमा निरीक्षण गरि बिक्री कक्षबाट हटाएर छुट्टै लेखेर राख्ने ।
प्याक गरिएको खाद्य सामाग्रीहरुमा अनिवार्य रुपमा उत्पादकको नाम, ठेगाना, व्याच नं., उत्पादन मिति, उपभोग गरि सक्नुपर्ने मिति, समिश्रण र खाद्य पदार्थको नाम भएको खाद्य सामाग्री मात्र खरिद बिक्रि गर्ने ।
मदिराजन्य वस्तुको समेत बिक्रि गर्ने भए अन्तःशुल्कको प्रमाणपत्र लिई छुट्टै सोकेसको व्यवस्था गरि बिक्रि गर्नुपर्ने ।
व्यवसाय सम्बन्धित निकायमा दर्ता गरेपछि मात्र संचालन गर्न पर्ने ।
आफुले गर्ने व्यवसाय दर्ता प्रमाण पत्रमा उल्लेख गरेको हुनुपर्ने ।
पसलको नियमित रुपमा सरसफाई गरि प्वाल परेका, प्याकेट बिग्रीएका, किरा वा मुसाले क्षति पुराएका खाद्य सामाग्रीहरु बिक्रि कक्षबाट हटाउनु पर्ने ।
व्यवसायको स्थायी लेखा नं. लिनुपर्ने र सोही नं. उल्लेख भएको विलको प्रयोगको व्यवस्था मिलाउनुपर्ने ।
प्याकेटमा उल्लेख नभएका खुल्ला रुपमा बिक्रि गरिने खाद्य सामाग्रीको सबै ग्राहकहरुले देख्ने गरि मुल्यसुचि राख्नुपर्ने ।
प्याकेटमा उल्लेख भएको वा मुल्यसुचिमा उल्लेख भएको भन्दा बढि मुल्यमा सामाग्री बिक्रि गर्न पाईने छैन ।
प्याकेटमा उल्लेख भए अनुसारको भण्डारणको व्यवस्था गर्नु पर्ने ।
प्रशोधित दुधलाई फ्रिजमा राखेर बिक्रि गर्नु पर्ने, दुधलाई खुल्ला स्थान वा सीधा घाममा राखेर बिक्रि गर्न नपाइने ।
तेललाई चिसो र घामबाट जोगाएर राख्नु पर्ने भनि उल्लेख भएको भए सोहि बमोजिम गर्ने ।
होटल व्यवसायीहरुले पालना गर्नुपर्ने सामान्य नियमहरु
मुल्यसुचि अनिवार्य रुपमा सबै ग्राहकहरुले देख्ने स्थानमा राख्नु पर्ने ।
तयारी खाद्य सामाग्रीहरु अनिवार्य रुपमा छोपेर मात्र राख्नु पर्ने ।
पकाएका खाद्य पदार्थहरु ग्राहकलाई दिँदा तताएर त्यसको तापक्रम कम्तिमा ६० डिग्री पुगेपछि मात्र दिनुपर्ने ।
छिटो सडि गलि जाने खाद्य पदार्थ जस्तै माछामासु, दुधका परिकार, मिठाई, लगाएतका बस्तुहरुको भण्डारण अनिवार्य रुपमा रेफ्रिजेरेटरमा राख्नु पर्ने । ( जसको तापक्रम ४ डिग्रीभन्दा कम हुनु पर्ने छ )
फ्रिजमा पकाएको र काँचो खाद्य बस्तु एकै स्थानमा भण्डारण गर्न नहुने ।
किचेनमा काम गर्ने कामदारहरुले अनिवार्य रुपमा माक्स, एप्रोन, टोपीको प्रयोग गर्ने ।
किचेनमा हात धुन तथा सरसफाई गर्न अनिवार्य रुपमा धारा तथा साबुनको व्यवस्था गर्ने ।
ग्राहकहरुलाई समेत हात धुनको लागि साबुन सहितको धाराको व्यवस्था गर्ने ।
होटलमा राखिएको डस्टविन नियमित रुपमा सफा गरेको र ढकन लगाएको हुनुपर्ने ।
माछामासु तथा तरकारी र फलफुल काट्नको लागि छुट्टाछुट्टै चपिङ बोर्ड र चक्कुको व्यवस्था गर्नुपर्ने र नियमित रुपमा सफा गर्नुपर्ने ।
मासुजन्य खाद्य पदार्थ र शाकाहारी खाद्य पदार्थलाई छुट्टा–छुट्टै भण्डारण गर्ने ।
कामदारहरुको कम्तिमा बर्षमा एक पटक स्वास्थ्य परिक्षण गर्नुपर्ने ।
किचेन तथा ग्राहक बस्ने स्थानमा नियमित सरसफाई गर्नु पर्ने ।
भान्छामा अनधिकृत व्यक्तिको प्रवेशलाई रोक लगाउने ।
भान्सामा बसेर खाना खान, ध्रुम्रपान गर्न निषेध गर्ने ।
ग्राहकसँग भद्र र नम्र व्यवहार गर्ने र ग्राहकको आवश्यकताप्रति संवेदनशिल हुने ।
होटलको कुर्सी टेबलहरु स्यानीटाइजर वा अन्य किटनाशक पदार्थको प्रयोग गरी नियमित सफा गर्ने ।
ताजा खानामा बासी तथा बिग्रीएका वा सडेगलेका खाद्य पदार्थहरु मिसाएर बिक्रि गर्न नहुने ।
फ्रिजको नियमित सरसफाईमा गर्नु पर्ने ।
होटलमा एउटै तेलमा बारम्बार खाद्य पदार्थहरु फ्राई नगरी कम्तीमा दुईदेखि तिन पटक फ्राई गरेपछि पुर्ण रुपमा तेल परिबर्तत गर्नु पर्ने ।
कृत्रिम रंग मिसाएर कुनैपनि खाद्य पदार्थ पकाउन नहुने ।
खाद्य उद्यमीहरुले पालना गर्नुपर्ने सामान्य नियमहरु
उद्योग दर्ता गरि खाद्य अनुज्ञा पत्र लिएपछि मात्र उत्पादन शुरु गर्ने र बजारमा लैजाने ।
खाद्य पदार्थलाई प्याकिङ गर्दा अनिवार्य रुपमा उत्पादकको नाम, ठेगाना, व्याच नं., उत्पादन मिति, उपभोग्य मिति, समिश्रण, तौल, मुल्य, खाद्य अनुज्ञापत्र नं., उद्योग दर्ता नं., खाद्य पदार्थको नाम अनिवार्य रुपमा लेख्नु पर्ने ।
एउटा विशेष परिकारको लागि तयार गरिएको ¥यापरमा अन्य खाद्य बस्तु प्याकिङ गर्न नहुने ।
भण्डारण गर्दा कस्तो स्थानमा गर्न पर्ने हो सो को संकेत उल्लेख गर्नुपर्ने ।
उद्योगको सरसफाई एवं निरन्तर ध्यान दिनु पर्ने ।