बैदेशिक रोजगारीमा जान खोज्ने धेरै नेपालीहरु ठगिएका समाचारहरु संचार माध्यम तथा सामाजिक सन्जालहरुमा आइरहेकै छन । बिदेश जानचाहने तथा विदेशमा पुगेर पनि ठगिएका नेपालीहरुले उपचार खोज्ने र न्याय पाउने अबस्था चुनौतिपूर्ण छ । यो संगै बैदेशिक रोजगारीका नाममा ठगीधन्दा चलाउनेहरुलाई कारवाही गरिएका र पिडित पक्षले न्याए पाएका धेरै समाचारहरु पनि हामीले सुनिरहेका छौं ।
यसै सन्दर्भमा बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले संचालन गर्ने विभिन्न योजना र हाल संचालित कार्यक्रमहरुका बारेमा शुक्रबार पत्रकारहरुसंग अन्तरक्रिया गरिएको छ । बागलुङ नगरपालिकाको आयोजनामा संचालित स्थानीय पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा नगर उप–प्रमुख राजु खड्काले सामी कार्यक्रमको उद्धेश्य र यो कार्यक्रमले आम नागरिकलाई गर्ने सहयोगबारेमा पत्रकारहरु मार्फत सबैमा बृहत जानकारी तथा सुचना पु–याउन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बैदेशिक रोजगार वोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले सहजिकरण गर्दै बागलुङ नगरपालिका अन्तर्गत रहेर सामी कार्यक्रमले संचालन गरिरहेका गतिविधिहरु तथा आर्थिक बर्ष २०८०/८१ को बित्तीय तथा भौतिक प्रगतिका बारेमा प्रकाश पार्नु भएको थियो । बागलुङमा क्रियाशिल विभिन्न संचार माध्यममा आबद्ध पत्रकारहरु सो कार्यक्रममा सहभागी रहनु भएको थियो । कार्यक्रमको संचालन सामाजिक परिचालक रामचन्द्र गौतमले गर्नु भएको थियो ।
सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्वीस सरकारबीच भएको द्धिपक्षीय सहमति अनुसार श्रम मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा संचालनमा रहेको छ । कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय,बागलुङ परिसरमा आप्रवासी स्रोत केन्द्र संचालन गरी काम गरिरहेको छ । यो केन्द्रमा रहेका कर्मचारीहरुले खासगरी राहदानी बनाउन आउने नागरिकहरुलाई बैदेशिक रोजगारीमा जादा ध्यान पु–याउनु पर्ने कुराहरु र आवश्यक परामर्श प्रदान गरिरहेको छ । बिदेश जादा सिप सिकेर जान आग्रह गर्दै सही सूचनाको अभावमा बिदेशीदा जोखिमपूर्ण काम, न्यूनज्याला लगाएत दलालहरुलाई बिश्वास गर्दा भोग्नु परेका शोषण लगायतका समस्याहरुबारे सतर्क रहन आग्रह गरिन्छ ।