सहकारी संस्थाहरुका लागि सचेतना कार्यक्रम

-


     कालिका दर्शन     
     असार २३ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका क्षेत्रमा रहेका सहकारीहरुका लागि २ दिने सचेतना कार्यक्रम संचालन गरिएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ९५ सहकारीका संचालक तथा कर्मचारीहरु सहभागी रहेका छन ।
कार्यक्रममा नगर उप–प्रमुख राजु खड्काले बागलुङको सहकारी आन्दोलनलाई एउटा परिणाममा पु–याएर निरन्तर बचाउनु पर्नेमा जोड दिनु भयो । बिगतमा वित्तिय साक्षरता र सहकारी शिक्षामा गरिएको लगानीको गम्भिर समिक्षा गर्दै स्वनियमन र सहकारीको सिद्धान्तलाई व्यापक बहस र छलफलको बिषय बनाउनु पर्ने बताउनु भयो ।
नगरस्तरिय सहकारी संघ गठनसंगै अनुगमनलाई नियमित र प्रभावकारी रुपमा संचालन गरिने बताउदै खड्काले सहकारी सस्थामा कार्यरत कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक दिन आग्रह गर्नु भयो । इमेज तथा शिव शिखर सहकारीबाट पिढित बचत कर्ताहरुको सहयोगका लागि आवश्यक समन्वय र छलफल गरिने उप–प्रमुख खड्काको भनाई रहेको थियो ।
कार्यक्रममा वडा नं.१३ का अध्यक्ष चक्र बहादुर खत्री, जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जि.शीले सहकारी सस्थाहरुले भोग्नु परेका समस्या र समाधानका सम्बन्धमा भनाई राख्नु भयो । प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कडेलले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।
आर्थिक विकास समितिका संयोजक तथा १३ नं. वडाका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता तथा सहकारी शाखा प्रमुख प्रेम शर्माको संचालनमा सम्पन्न पहिलो दिनको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहकारी व्यवसाय प्रबद्र्धनमा प्रस्तुतीकरण गर्नु भयो । यसै गरी राष्ट्रिय सहकारी बैकका संचालक राम बहादुर जि.सीले ऋण लगानी र असुली तथा ऋण बचत सहकारी संघका केन्द्रीय सदस्य चण्डीप्रसाद शर्माले बर्तमान अबस्थामा सहकारी संस्थाहरुले भोग्नु परेका समस्या र समाधानका उपाय सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।