बलेवा भैरबस्थान मन्दिरमा दोस्रो हरेलो मेला हुने

-


     कालिका दर्शन     
     श्रावण ५ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका वडा नं.१२ मा अवस्थित प्रसिद्ध भैरबस्थान मन्दिरमा यस बर्ष हरेलो मेलाले निरन्तरता पाउने भएको छ । भैरबस्थान गुठी व्यवस्थापन समितिले शुक्रबार मन्दिर परिसरमा आयोजना गरेको भेलाले भाद्र ५ र ६ गते २ दिने दोस्रो हरेलो मेला आयोजना गर्ने गरी तयारी थालेको गुठीका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताउनु भयो ।
भेलामा सहभागी बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले भैरबस्थान मन्दिरको विकास भनेकै समग्र बलेवाको विकास भएकाले यो मन्दिरको विकास,व्यवस्थापन र प्रचार प्रसारमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो । गत बर्ष नगरपालिकाले विशेष पहल गरेर शुरु गरेको मेलालाई निरन्तरता दिन आफुले आगामी दिनहरुमा पनि सक्दो योगदान दिने बताउदै उहांले बागलुङ बजार तथा कुश्मा केवलकार र बन्जिदेखि भैरबस्थान मन्दिरजोड्ने सडकको स्तरउन्नतीका लागि सबैको सहयोगको अपेक्षा गर्दै हरेलो मेलालाई निरन्तर आयोजना गर्नका लागि स्थानिय समुदाय सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
हरेक बर्ष भाद्र महिनाको पहिलो मंगलबार धुमधामसंग पुजा लाग्ने यो दिन बलेवा क्षेत्रमा हरेलो गरिन्छ । हरेलोेको दिन स्थानिय सहित टाढाटाढाका भक्तजनहरु यो मन्दिरमा पुजा अर्चनाका लागि आउने गर्दछन । यसै सन्दर्भलाई जोडेर नगरपालिकाको सहयोगमा मन्दिरमा हरेलो मेला व्यवस्थापनको शुरुवात गरिएको छ । यस बर्षको मेलामा पुजा व्यवस्थापनलाई विशेष ध्यान दिदै भजन ,छेलो प्रतियोगिता संचालनको तयारी थालिएको छ । यसै गरी ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती पनि रहने आयोजकले जानकारी दिएको छ । मेलाको विस्तृत जानकारी केही दिनमा सार्बजनिक गरिने आयोजक समितिका सचिव भिम पौडेलले बताउनु भयो ।