नारायणस्थान र अमलाचौरमा मेलमिलाप केन्द्र स्थापना

-


     कालिका दर्शन     
     श्रावण ५ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाको न्यायिक समितिले शुक्रबार नारायणस्थान र अमलाचौरमा वडास्तरीय मेलमिलाप केन्द्रको कार्यालय स्थापना गरेको छ । सो अवसरमा न्यायिक समितिका संयोजक तथा बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्काले वडातहको मेलमिलाप केन्द्र स्थापनाले समाजमा हुने विवाद र मुद्धामामिलाबाट आर्थिक तथा समयको खर्चमा कटौती हुने विश्वास लिनु भयो । न्यायिक समिति तथा मेलमिलाप कर्ता जुन सुकै पार्टीमा आस्था राख्ने भए पनि न्यायिक कार्यमा संलग्न हुदा कानुनको पालना गर्दै स्वतन्त्र र निश्पक्ष रुपमा काम गर्न आग्रह गर्नु भयो ।

उहांले वडा तहको मेलमिलाप केन्द्रलाई साधन र श्रोतले विस्तारै पूर्ण बनाउदै न्यायिक गतिविधीमा आम नागरिकको भरोसाको केन्द्रको रुपमा विकास गर्ने बताउनु भयो ।
सो अवसरमा नारायणस्थानका मेलमिलापकर्ता लक्ष्मीनारायण श्रेष्ठ, शिक्षासेवी कमल बहादुर जिसी, स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्मा, वडा सदस्य जुना वि.क, न्यायिक समिति सदस्य संचिता सापकोटा कार्यपालिका सदस्य शुनिता श्रेष्ठले शुभ कामना दिनु भएको थियो । वडा अध्यक्षद्धय चक्र बहादुर क्षेत्रि तथा कोपिलामणी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण उजुरी प्रशासक हरी गौतमले गर्नु भएको थियो ।