भैरवस्थान मन्दिरमा हुने दोस्रो हरेलो मेलाको तयारी

-


     कालिका दर्शन     
     श्रावण ८ गते २०८० मा प्रकाशित


प्रसिद्ध भैरबस्थान मन्दिरमा संचालन हुने दोस्रो हरेलो मेलाको तयारी शुरु गरिएको छ । भैरबस्थान गुठी व्यवस्थापन समितिको सोमबार बागलुङ नगरपालिकामा बसेको बैठकले गत हप्ता भैरबस्थान मन्दिरमा बसेको भेलाको निर्णय अनुसार हरेलो मेला संचालन गर्ने निर्णय गरेको छ ।


गुठीका अध्यक्ष ज्ञानेन्द्र ढकालका अनुसार भाद्र पहिलो मंगलबार ५ गते दोस्रो हरेलो मेलाको आयोजना गरिने छ । मेलामा भजन तथा छेलो प्रतियोगिता आयोजना गरिने छ । स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुको सांगितिक प्रस्तूती पनि रहने छ । हरेलो मेलाको दिन मन्दिरमा भक्तजनहरुको उपस्थिति धेरै हुने भएकाले पूजा आजालाई व्यवस्थित गरिने छ । बागलुङ नगरपालिकाको विशेष सहयोग तथा भैरबस्थान गुठीको मूल संयोजनमा हरेलो मेला आयोजनाको तयारी भैरहेको अध्यक्ष ढकालले जानकारी दिनु भयो ।


मेलाको तयारी संगै गुठीले सरोकारवाला जनप्रतिनिधीहरुको पनि सोमबार सूझाव संकलन गरेको छ । बागलुङ नगरपालिकाका नगर उप–प्रमुख राजु खड्का, बानपा ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, १२ का प्रतिनिधी वडा सदस्य महानन्द शर्मा १३ का अध्यक्ष नारायण शर्मा पौडेल, १४ का अध्यक्ष चक्र बहादुर खत्री, कलाकार तथा संचारकर्मि कृष्ण अखेली लगायतले विभिन्न सुझाव राख्नु भएको थियो । सो अवसरमा उप–प्रमुख खड्काले भैरवस्थान मन्दिर बलेवाको मात्र नभई देशकै धार्मिक तथा पर्यटकिय सम्पदा भएकाले यो मन्दिर तथा हरेलो मेलालाई सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।


उप–प्रमूख खडकाले हरेलो मेलासंगै भैरवस्थान मन्दिरको व्यापक प्रचार प्रसार र मन्दिर क्षेत्रमा पुर्वाधार निर्माणमा पनि धेरै कामहरु गर्नु पर्ने देखिएकाले गुठी व्यवस्थापन समिति सहित सवैको महत्वपुर्ण सक्रियताका लागि अनुरोध गर्नु भयो ।

अर्काे बैठकले सचिवालय, बिभिन्न उप समितिहरु गठन गरी जिम्मेवारी वाडफांड गर्ने सचिव भिम पौडेलले बताउनु भयो । उहांले लामो समय गुठी समिति गठन नहुदा समस्या देखिए पनि अब विस्तारै नयां समितिले सक्रियता देखाउने र भैरबस्थान मन्दिरको विकास निर्माण र व्यवस्थापनका कामले गति लिने विश्वास व्यक्त गर्नु भयो ।