बागलुङ नगरपालिका न्यायिक समितिले बुधबार ३ नं. वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरेको छ । सो अवसरमा न्यायिक समितिका संयोजक एवं नगर उप–प्रमुख राजु खड्काले न्यायिक समिति सहित वडा मेलमिलाप केन्द्रको काम कारवाहीका बारेमा आम नागरिकहरुलाई पनि जानकारी गराउन आवश्यक रहेको बताउनु भयो । उहांले न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवाद मेलमिलापको प्रकृयाद्धारा समाधानमा सहयोग पु–याउन नगरपालिकाले नगरका सबै वडाहरुमा मेलमिलाप केन्द्रहरु स्थापना गर्न लागेको बताउदै सम्पूर्ण मेलमिलाप कर्ताहरुलाई कानुन सम्बत रहेर स्वतन्त्र र निष्पक्ष रुपमा जिम्मेवारी सम्पादन गर्न आग्रह गर्नु भयो ।
स्थानीय सरकार संचालन ऐनको परिच्छेद-८ मा भएको व्यवस्था बमोजिम मेलमिलाप सम्बन्धि कार्यलाई सरल र सहज तवरले
संचालनमा सहयोग गर्न, स्थानीय स्तरका विवादहरुको मेलमिलापका माध्यमबाट समाधान गरी समाजमा
शान्ति, सौहार्दता कायम गर्न तथा वडामा आउने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने सरल व्यबस्था
गर्न सफलता मिल्ने विश्वास लिदै उप–प्रमुख खड्काले वडा मेलमिलाप केन्द्रलाई शुभ कामना व्यक्त गर्नु भयो । कार्यक्रममा वडा सचिव रचना आचार्य, कार्यपालिका सदस्य धनमाया शर्मा, मेलमिलाप कर्ता लक्ष्मी बास्कोटा, न्यायिक समिति सदस्य ज्ञानेन्द्र गौतमले आ–आफ्ना भनाई संगै मेलमिलाप केन्द्रबाट गर्न सकिने कामहरुका बारेमा चर्चा गर्नु भएको थियो । वडा अध्यक्ष शनी के.सीको अध्यक्षता तथा उजुरी प्रशासक हरी गौतमको सहजिकरणमा सम्पन्न सो कार्यक्रमबाट मेलमिलाप कर्ता लिलादेवी खड्काको संयोजकत्वमा वडा मेलमिलाप केन्द्र गठन गरिएको छ । सो केन्द्रमा मेलमिलाप कर्ता लक्ष्मी बास्कोटा, कविन्द्र प्रसाद शर्मा सापकोटा, राम बहादुर हमाल, सिता कुमारी शर्मा गौतम र जिवराज पन्त सदस्य रहनु भएको छ ।