नगर क्षेत्रका १४ वटै वडाहरुमा मेलमिलाप केन्द्र गठनको अभियानमा रहेको बागलुङ नगरपालिका, न्यायिक समितिले बिहीबार ६ र ८ नम्बर वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । वडा नं. ६ का अध्यक्ष रुद्र बहादुर के.सीको अध्यक्षतामा भएको कार्यक्रमबाट मेलमिलाप कर्ता नारायण प्रसाद आचार्यको संयोजकत्वमा वडा मेलमिलाप केन्द्र स्थापना भएको छ । सो केन्द्रमा गोविन्द शर्मा, टेक बहादुर थापा, पार्वती शर्मा सापकोटा, शोभा के.सी क्षेत्रि, पवित्रा खड्का केसी सदस्य रहनु भएको छ ।
यसै गरी बानपा ८ का अध्यक्ष छम बहादुर कार्किको अध्यक्षतामा भएको कार्यक्रमबाट मेलमिलाप कर्ता सुशिला पन्त संयोजक रहनु भएको छ । मेलमिलाप कर्ताहरु लक्ष्मी जिशी कार्कि, लक्ष्मी खड्का, शुष्मा कार्कि खड्का, सुनिता नेपाली सदस्य रहनु भएको छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ (२) ले न्यायीक समितिलाई प्रदत्त गरेका विवादहरु मेलमिलापको माध्यमबाट समाधान गर्नका लागी बागलुङ नगरपालिका न्यायिक समितिले वडा मेलमिलाप केन्द्र स्थापना गरेको नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक राजु खड्काले बताउनु भयो ।
हारजितभन्दा माथि उठेर दुवै पक्षको जितको अनुभूति गराउन, सामाजिक शान्ति र सुसम्बन्ध कायम गर्नुका साथै समृद्धितर्फ उन्मुख गराउन मेलमिलाप कर्ताहरुको भूमिकालाई बढाउनु पर्नेमा जोड दिदै उहांले स्थानीय स्तरमै मिल्ने प्रकृतिका विवादहरू समेत अदालततर्फ प्रवेश गरिरहेको अवस्था अझैसम्म कायम भएकैले हाल आएर सकेसम्म स्थानीय स्तरका विवाद मेलमिलापको माध्यमबाटै समाधान गर्न सकिने भएकाले यस तर्फ टोल, समुदायमा बहस छलफल चलाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका कानुनी सल्लाहकार अधिबक्ता अखिलनाथ शर्मा, न्यायिक समिति सदस्यद्धय ज्ञानेन्द्र गौतम, सन्जिता सापकोटा, उजुरी प्रशासक हरी गौतम , मेलमिलाप कर्ताद्धय सुशिला पन्त र नारायण प्रसाद आचार्य लगायतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।