तित्याङ, भकुण्डे र पैयुपाटामा वडा मेलमिलाप केन्द्र स्थापना

-


     कालिका दर्शन     
     श्रावण १४ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका न्यायिक समितिले आइतबार नगरपालिका क्षेत्रका वडा नं.९, १० र १३ मा वडा मेलमिलाप केन्द्र स्थापना गरेको छ । बानपा ९ का वडा अध्यक्ष राजु थापाको अध्यक्षतामा वडा कार्यालय तित्याङमा भएको कार्यक्रमबाट मेलमिलाप कर्ता सुनिता खड्का थापाको संयोजकत्वमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । सो केन्द्रमा किरण थापा, शर्मिला थापा क्षेत्री, हरि ब केसी सदस्य रहनु भएको छ ।


बानपा १० का वडा अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा वडा कार्यालय, भकुण्डेमा भएको कार्यक्रमबाट पहेली थापाको संयोजकत्वमा वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । सो केन्द्रमा ठगी थापा मगर, सिर्जना थापा मगर, हिरा देवी थापा, सिता हमाल मल्ल, मोतीराम किसान, खिमा थापा सदस्य रहनु भएको छ ।
यसै गरी बानपा १३ का अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा वडा कार्यालय, पैयुपाटामा भएको कार्यक्रमबाट रेशम बहादुर थापा खत्री, रुद्र बहादुर नेपाली, टिकाराम शर्मा, कृण्ण प्रसाद पौडेल, ऋषिराम रिजाल, राजेन्द्र बोहोरा रहनु भएको वडा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।


वडा मेलमिलाप केन्द्र स्थापना कार्यक्रममा शुभ कामना मन्तव्य दिनु हुदै नगर उप–प्रमुख एवं न्यायिक समिति संयोजक राजु खड्काले बागलुङ नगरपालिका न्यायिक समिति तथा नगरका वडा मेलमिलाप केन्द्रहरुलाई विधि, पद्धति र प्रणाली संगत रुपमा संचालन गरी देशकै नमुना केन्द्रको रुपमा संचालनको प्रयास गर्न आग्रह गर्नु भयो । उहांले बागलुङ नगर क्षेत्रमा पर्यटन र सहकारीको अवलोकनका लागि आन्तरिक पर्यटकहरुको उपस्थिति बढ्दै गैरहेको अवस्थामा न्यायिक समिति र वडा मेलमिलाप केन्द्रहरुको अवलोकन गरी हाम्रा अभ्यासहरु सिकेर जाने खालको वातावरण निर्माणमा लाग्न अनुरोध गर्नु भयो ।


उहांले विगतमा विभिन्न समयमा तिन पटकको तालिम लिएका मेलमिलाप कर्ताहरुका लागि छिटै पर्नताजगी तालिम दिइने बताउदै एउटै शैली, विधि र उच्च सक्रियता देखिने वातावरण निर्माणमा केन्द्रहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा सहभागी राजनैतिक दल, विभिन्न संघ सस्था तथा शैक्षिक र सामाजिक व्यक्तित्वहरुलाई न्यायिक समिति र वडा मेलमिलाप केन्द्रहरुको काम कारवाहीहरुको वडा भित्र व्यापक प्रचार प्रसारका लागि सहयोग गर्न आग्रह गर्दै समाजमा शान्ति स्थापना र विवाद नै आउन नदिनका लागि भूमिका खेल्न आग्रह गर्नु भयो ।
सो अवसरमा न्यायिक समिति सदस्य ज्ञानेन्द्र गौतम, नगरपालिकाका कानुनी सल्लाहकार अधिबक्ता अखिलनाथ शर्माले न्यायिक समिति र मेलमिलाप केन्द्र र स्थानिय मेलमिलाप कर्ताहरुको भूमिकाकाबारेमा चर्चा गर्नु भएको थियोे ।