बलेवा भैरवस्थान मन्दिरमा भाद्र ५ गते हरेलो मेला हुने, मुख्यमन्त्री पाण्डेद्धारा उद्घाटन हुने

-


     कालिका दर्शन     
     श्रावण २३ गते २०८० मा प्रकाशित


प्रसिद्ध ऐतिहासिक बलेवा काल भैरब मन्दिरमा परम्परागत रुपमा संचालन हुदै आएको हरेलो मेलालाई व्यवस्थित रुपमा संचालन गर्नका लागि तयारी शुरु भएको छ । हरेलो मेलाका अवसरमा भैरवस्थान मन्दिरमा पुजा गर्ने दर्शनार्थिहरुको व्यवस्थापनका साथै स्थानिक कला,संस्कृतिको प्रदर्शन, मनोरन्जन, स्थानिय उत्पादनको बिक्री प्रबद्र्धन, भैरवस्थान मन्दिरको व्यापक प्रचार प्रसार गरी बलेवा क्षेत्रलाई विकासको मूल प्रवाहमा जोड्न विभिन्न योजना तथा कार्यक्रमहरु संचालन गर्ने तयारी सरोकारवालाहरुबाट शुरु भएको छ ।


हरेक बर्षको पहिलो मंगलबार बलेवामा हरेलो गरिन्छ । हरेलोकै दिन पारेर भैरवस्थान मन्दिरमा विशेष पूजा अर्चना र बलि समेत दिइन्छ । यस दिन बागलुङ जिल्ला बाहेक अन्य जिल्लाहरुबाट पनि भक्तजनहरु यस मन्दिरमा आउने गर्दछन । यसै दिन लाग्ने हरेलो मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि मंगलबार गण्डकी प्रदेश सरकारका विभिन्न निकायहरुमा भेटघाटहरु सम्पन्न भएका छन ।

प्रदेश सभाका माननिय सदस्यहरु कृष्ण पाठक, डिल्लीराम सुवेदी, बागलुङ नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, नगर उप प्रमुख राजु खड्का, बानपा १३ का अध्यक्ष नारायण शर्मा पौडेल, भैरवस्थान मन्दिर गुठीका अध्यक्ष ज्ञानेन्द्र ढकाल, कोषाध्यक्ष चन्द्र बहादुर खत्रि, बानपा १२ का पूर्व अध्यक्ष गुरुदत्त पाठक लगायतको टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रि दिपेन्द्र बहादुर थापा, भौतिक पूर्वाधार तथा यातयात मन्त्रि रेशम जुग्जाली, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रि शुसिला सिंखडा लगायतलाई भेट गरी निमन्त्रणा गरेको थियो ।


हरेलो मेलालाई सम्पन्न गर्नका लागि आयोजक भैरवस्थान मन्दिर गुठीको संयोजनमा मूल आयोजक समिति गठन गरिएको छ । मेलालाई गत बर्ष जस्तै यस बर्ष पनि बागलुङ नगरपालिकाले विशेष सहयोग गरेको छ । मेलालाई व्यवस्थित बनाउन विभिन्न उप समितिहरु पनि गठन गरिएको भैरवस्थान मन्दिर गुठीले जनाएको छ ।