बलेवाका जनतालाई भाद्रभर बन्जीपुलमा निःशुल्क यात्राको सुविधा

-


     कालिका दर्शन     
     श्रावण २८ गते २०८० मा प्रकाशित



बागलुङ नगरपालिका वडा नं.११ भकुण्डे स्थित एक्लेसालको गलुवामा बर्षाका कारण मोटरबाटो अवरुद्ध हुने क्रम बढेकाले बलेवाबाट यात्रा गर्ने नगरबासीहरुलाई बन्जीपुलबाट आवत जावतको व्यवस्था मिलाइएको छ । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का र बलेवा–कुश्मा बन्जी द क्लिफ प्रा.लिका संचालक राजु कार्किसंगको वार्तापछी भाद्र महिना भर बानपा वडा नं.१२,१३ र १४ का नगरबासीहरुले नागरिकता वा परिचय पत्र देखाएर निःशुल्क आवत जावत गर्न पाउने व्यवस्था मिलाइएको हो ।
बर्षाका कारण गलुवाको पहिरोमा हरेक दिन जसो डोजर लगाउनु पर्ने अवस्था आयो, पानी निरन्तर परिरहदा यात्रुको सुरक्षामा पनि खतरा देखियो । यो अवस्थामा बलेवा देखि कुश्मा हुदै बागलुङ आउने नगरबासीहरुलाई द क्लिफ प्रालिसंग सहमति गरेर बलेवा–कुश्मा बन्जीपुलमा निःशुल्क यात्राको व्यवस्था मिलाइएको उप प्रमुख खड्काले बताउनु भयो । यो सहमति साउन २९ गते सोमबार देखि नै लागू हुने खड्काले बताउनु भयो ।
बर्षाका कारण गलुवामा आएको पहिरोका कारण एउटै बाटो ३ ठाउंमा अबरुद्ध भएको छ । कालिगण्डकी करिडोरसंगै नारायणस्थान, पैयुपाटा, अमलाचौर तथा भकुण्डेका केही स्थानका नागरिक प्रभावित भएका छन । प्रभावित क्षेत्रका नागरिकलाई यो सुविधाले तत्काललाई केही भए पनि सुविधा दिने र कालिगण्डकी करिडोरलाई नियमित रुपमा संचालनका लागि निरन्तर प्रयास भैरहेको पनि उप प्रमुख खड्काले जानकारी दिनु भयो ।