बागलुङ नगरपालिकाद्धारा मेलमिलापकर्ताहरुका लागि पुर्नताजगी तालिम

-


     कालिका दर्शन     
     भाद्र २ गते २०८० मा प्रकाशित



बागलुङ नगरपालिका न्यायिक समितिले मेलमिलापकर्ताहरुका लागि मेलमिलाप सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । नगरपालिकाले विभिन्न चरणमा मेलमिलापकर्ताहरुका लागि तालिम संचालन गरेको भए पनि कार्यसम्पादनमा एक रुपता ल्याउन सकियोस भन्ने उद्धेश्यले सो अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले समाजमा हुने विवादहरु मेलमिलापको माध्यमबाट समाधान गर्नका लागि मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण हुने भएकोले आफ्नो जिम्मेवारी निश्पक्ष रुपमा सम्पन्न गर्न आग्रह गर्नु भयो । उहांले समाजमा विवाद नै हुन नदिन र भएका विवादलाई शान्तिपूर्ण रुपमा मेलमिलापका माध्यमबाट समाधान गर्नमा मेलमिलापकर्ताहरुलाई सफलता मिलोस भन्ने शुभ कामना व्यक्त गर्नु भयो ।


कार्यक्रममा उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधिस निलम पौडेलले मेलमिलापकर्ताले पालना गर्नु पर्ने आचारसंहिता र नियमनकारी निकाय र अधिबक्ता ममतादेवी शर्माले मेलमिलापका ७ चरण विषयमा सहजिकरण गर्नु भएको थियो ।


सो अवसरमा न्यायिक समितिका संयोजक एवं नगर उप प्रमुख राजु खड्काले समाजमा हुने विवादित पक्षहरुलाई सकारात्मक सोचमा बदल्दै विकास निर्माणमा परिणत गर्नु आजको आवश्यकता रहेको बताउदै मेलमिलापकर्ताहरुले तालिममा सिकेका ज्ञान र आफुसंग भएको क्षमता तथा अनुभवहरुलाई समाजमा उत्कृठ शैलीमा प्रर्दशन गर्न आग्रह गर्नु भयो । विवाद निरुपण गर्दा रीति, थिति, विधि र प्रक्रिया पूरा गराउनु पर्नेमा जोड दिदै उप प्रमुख खड्काले नगरका १४ वटै वडाहरुमा स्थापना भएका मेलमिलाप केन्द्रहरुले समाजमा मेलमिलापको जिम्मेवार ढंगबाट पैरवी गर्न आग्रह गर्नु भयो ।


बागलुङ नगरपालिकामा ८५ जना मेलमिलापकर्ताहरु सूचिकृत रहेका छन । अभिमुखिकरण कार्यक्रममा सहभागीहरुलाई न्यायिक समिति सदस्य ज्ञानेन्द्र गौतमले स्वागत र उजुरी प्रशासक हरी गौतम संचालन गर्नु भएको थियो ।