सडक बिस्तारको अभियानमा बागलुङ नगरपालिका

-


     कालिका दर्शन     
     भाद्र २ गते २०८० मा प्रकाशित


देशका धेरै जसो नगरपालिकाहरुले यतिखेर सडक बिस्तारको अभियानलाई उच्च प्राथमिकता राखेर काम गरिरहेका छन । काठमाडौं महानगरको सडक बिस्तारको अभियानले देश तथा बिदेशमा समेत तरङ्ग पैदा गरेको छ । नगरपालिकाहरुको सडक विस्तारको अभियानलाई महानगरको सिको भन्नेहरु पनि धेरै छन । तर जे होस शहरी क्षेत्रका सांघुरा सडकहरु बिस्तार हुनु महत्वपूर्ण काम हो । नगरपालिका भित्रका सांघुरा सडक विस्तारको कार्य प्राय सबै नगरपालिकाहरुका लागि चुनौति बनिरहेको बिषय हो ।


सडक बिस्तारको अभियानलाई बागलुङ नगरपालिकाले पनि महत्व दिएर अगाडी बढाएको छ । गत आर्थिक बर्षको असोज १३ गते बजार अनुगमनको क्रममा नगरपालिका क्षेत्रमा बनेका घर तथा टहराको सडक तर्फ निर्मित संरचना ट्रस, छाना, रेलिङ, टेंकी तथा सडक मापदण्ड भित्र राखिएका सामाग्रीहरु हटाउने र नगरको शौन्दर्यता बढाउने तथा सडकको साइडमा फुटपाथ बनाउने उद्धेश्य सहितको सुचना जारी भएको थियो । उक्त अभियानमा स्थानीय प्रशासन, उद्योगी व्यवसायीहरु समेतको सहभागीतामा छलफल पनि भएको थियो । तर सो अभियानलाई थप प्रभावकारी बनाउन नगरवासीहरुलाई तयारी गर्न र पर्याप्त सूचना दिनु पर्ने सुझाव आएपछी ९० दिनको सुचना जारी गरिएको थियो ।
१३ औं नगर सभामा समेत एजेण्डा पास गरी यस आर्थिक बर्षमा फेरी अर्काे सुचना जारी गरियो । नगरपालिकाले सडक विस्तारको अभियानमा साथ र सहयोगका लागि सवैमा अनुरोध गरेको थियो । साथै बजार व्यवस्थापन समिति समेत बनाएर नगरपालिकाले सक्रियता देखायो । यो अभियानले उद्योगी व्यवसायीहरुसंग सामान्य बिवाद देखिए पनि सडक बिस्तार अभियानले पूर्णता पाउनु पर्ने आवाज सबै तिर सुनियो ।
नगरपालिकाको सूचनालाई आधार मानेर केही घरधनीहरुले मापदण्ड विपरितका संरचनाहरु स्वतस्फूर्त हटाउन लागेको पाइयो । यसै क्रममा नगरपालिकाले सडक मापदण्डको बिस्तारका लागि रेखाङ्कन गर्ने कार्यलाई अगाडी बढायो । नगरपालिकाका प्राविधिकहरुको रेखाङ्कनसंगै केही व्यक्तिहरुले सडक मापदण्ड भित्रका संरचनाहरु आफै हटाउन थालेका दृश्यहरुले स्वंयम नागरिकहरु नै सडक विस्तारका लागि आत्तिएर बसेको आभास नगरपालिकालाई भयो । यो बेला करिब १२५ घरधनीहरु आफैले सडक पेटी, छाना, पटाहा,पर्खाल व्यवस्थापनमा लागेको पाइयो ।
भाद्र १ गते प्रेस विज्ञप्ती बाचन गरी नगर प्रमुख बसन्तकुमार श्रेष्ठले सडक विस्तार तथा सौन्दर्यीकरण अभियान बजार क्षेत्रका वडा नं.१,२,३ र ४ मा संचालन भइरहेको र यो कार्य क्रमश सबै वडाहरुमा संचालन हुने जानकारी दिदै यो कार्यमा सवैको सहयोगका लागि अनुरोध गर्नु भयो । यसै दिनमा स्वत स्फूर्त सडक विस्तारमा लाग्ने व्यक्तीहरुलाई नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, वडा सदस्य तथा नगरका कर्मचारीहरुले सम्मान सहित घर दैलो कार्य गर्नु भयो । यस कार्यले केही व्यक्तीहरुले डोजर चलाएर बजार विस्तारमा लाग्न समेत सुझाएका थिए । सडक विस्तारसंगै नाली निर्माणमा लाग्न पर्ने आवश्यकता पनि देखिएको छ ।
यसै अभियान अन्तर्गत शनिवार मरेपिपल सडकदेखि ट्राफिक चोकसम्मका मापदण्डभित्रका संरचनामा जेसिवी समेत प्रयोग गरी सडक विस्तारको कार्य अगाडी बढाइएको छ । बजार क्षेत्रका करिब ७५ प्रतिशत सडकहरुमा प्राविधिकहरुद्धारा मापदण्डको नापजांच गरी रेखाङ्कनको कार्य सम्पन्न गरिसकिएको छ । मापदण्ड भित्र परेका घरहरु हटाउन पत्राचार समेत भइरहेको छ ।
बागलुङ बजारका सांघुरा सडकका कारण बजारमा व्यापार व्यवसाय कम भएको, पार्किङ व्यवस्थापनमा समस्या, विद्यृत पोल तथा नालि निर्माण व्यवस्थित बन्न नसकेको, सवारी दुर्घटनाको खतरा देखिएको, ट्राफिक जाम लगायतका हैरानीले बजारबासी मात्र हैन बजार आउने यात्रुहरुलाई समेत समस्यामा पारेको छ ।
वास्तवमा सांघुरा सडकले बागलुङ बजारको व्यवसायिक भविष्य बन्न नसक्ने देखे भागेरै होला अहिले आम बजारबासी फराकिला सडक सहितको शहर उन्मुख बागलुङको कल्पना गर्न थालेका छन । हामीले केही ढिलो अवश्व गरौं होला, बिगतमा दिगो विकास योजना बनाएनौ होला वा नगरपालिकाबाट केही प्राविधिक कमजोरी भयो होला । तर अव बिगतलाई सम्झेर निराश नभौं । सुन्दर भविष्य र व्यवसायिक योजना बनाऔं । अव सबैको सहभागितामा बागलुङ बजारको शौन्दर्यकरण गरौं । फराकिला सडक निर्माण संगै व्यापारीक शहरको निर्माणमा लागौ ।
(राजु खड्का नगर उप–प्रमुख)