प्रसिद्ध बलेवा काल भैरव र हरेलो मेला

-


     कालिका दर्शन     
     भाद्र ४ गते २०८० मा प्रकाशित


गण्डकी प्रदेशको पोखरा महा–नगरपालिका पछीको दोस्रो ठूलो नगर बागलुङ नगरपालिका रहेको छ । बागलुङ नगरपालिका भित्रका ५ वडा, जैमिनि नगरपालिकाको केही भाग समेतको महत्वपूर्ण व्यापारीक, धार्मिक, कृषि उत्पाद, शैक्षिक तथा पर्यटकिय क्षेत्रको रुपमा बलेवा क्षेत्रले विशिष्ट पहिचान बनाएको छ ।
बाइसे चौविसे राजाका पालामा वि.सं. १७७९ तिर बलेवाको अग्लो डाडा अहिलेको भैरबस्थान मन्दिर रहेको डाडामा ढुङ्गाको पत्थरमा बत्ति बलेर उज्यालो भएकाले स्थानिय जम्मा भई लामा बोलाएर पुजा गर्दा म कालभैरवको कान्छो भाई हो भनी बकेकाले स्थानियले कालभैरवको मन्दिर स्थापना गरी पूजा आजा गर्ने गरेको जनविश्वास रहेको छ । काल भैरवका ३ भाई मध्ये जेठो काठमाडौको हनुमान ढोका, माइलो पाल्पाको भैरवस्थान र कान्छो बलेवाको काल भैरव रहेको जनविश्वास रहेको छ ।
मन्दिर स्थापनासंगै बलेवा कोटमा भदौंको पहिलो मंगलबार आ–आफ्नो खेतबारीमा हरेलो गर्ने र कालभैरवको मन्दिरमा आएर विशेष पुजा आजा गर्ने चलन चलेको पाइन्छ । बर्खे बाली खेत रोपाईपछी कीरा फट्याङ्ग्रा, रोग व्याधी, बाढी पैरो नलागोस भनेर मानिसहरुले भैरवलाई विशेष पुजा आजा गर्ने गरेको स्थानियको भनाई रहेको छ ।
परम्परागत रुपमा हाम्रो समाजमा असार १५ मा धान रोपाई गर्ने, हिलो खेल्ने तथा दही चिउरा खाने र साउन १ गते लुतो फाल्ने दिन र १५ मा खिर चढाउने र खाने चलन छ । पहाडी क्षेत्रका धेरै स्थानमा भदौको पहिलो मंगलबार हरेलो गर्ने र मंसिर १ गते धान भर्ने, खलो पुज्ने र न्वागी खाने जस्ता कृषिमा आधारित संस्कृतिहरु रहेका छन ।
हरेलो साधारणतया खेतबारीको काम सम्पन्न गरेपछी क्षेत्र बिशेषमा मंगलबार पारेर गर्ने चलन छ । केही क्षेत्रमा हरेलो साधारण तरिकाले खेतबारीको डिलमा रुखको डालो गाडेर टाटा पाटा झुन्डाएर, धुप, धजा दिएर, रायसर्जिम आगोमा पड्काएर, अन्नबाट रोटीको रुपमा तयार गरिएका चरामुसा, सेलरोटी आदी चढाएर, विभिन्न अन्न मास, तोरी आदी मकैको खोस्टामा पोको पारेर झुन्डाउने गरी आ–आफ्नै परम्परामा मनाइन्छ ।
केही क्षेत्रमा हरेलोका दिन मन्दिर, कोट आदीमा बलि पनि दिने गरिन्छ । पाहुना आफन्त बोलाएर भेटघाट, रमाइलो पनि गरिन्छ । हरेलोलाई पुरानो चाडपर्व कै रुपमा मानिन्छ । पछिल्लो समय हरेलोको परम्परा र यसको मौलिकता हराएको पनि सुन्ने गरिन्छ । कतै हरेलोको परम्परा हराउदै छ भने बागलुङ नगरपालिका वडा नं. १२ मा अबस्थित प्रसिद्ध काल भैरव मन्दिरमा हरेलो मेला भब्य रुपमा संचालन गर्ने गरी तयारी गरिएको छ ।
परम्परागत रुपमा बलेवा सहित आसपासका जिल्लाहरुबाट हरेलो पछी भैरवस्थान मन्दिरमा पुजा आजा गर्न मानिसहरु आउने गर्दछन । यो दिन भैरवस्थान मन्दिरमा ठूलो मेला नै लाग्ने गर्दछ । यसै मेलालाई मन्दिर व्यवस्थापन समितिले औपचारिक कार्यक्रम सहित विविध कार्यक्रमहरु समावेश गरी संचालनको तयारी गरेको छ । बागलुङ नगरपालिकाले गत बर्षदेखि हरेलो मेलालाई सस्थागत रुपमा सहयोग गर्ने नीति लिए अनुसार यही भाद्र ५ गते हुने दोस्रो हरेलो मेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित प्रदेशका मन्त्रि, माननिय ज्यूहरु लगायतका विशिष्ट व्यक्तित्वहरु सहभागी हुनु हुनेछ ।
मेलामा स्थानीय झांकी, आमा समूहको स्थानिय संस्कृति, चर्चित कलाकारहरुको सांगितिक प्रस्तुती,परम्परागत छेलो प्रतियोगिता समावेश गरिएको छ । मेलामा स्थानिय तरवार नाचको पनि प्रदर्शनी गरिने छ । मेलामा विभिन्न स्थानिय भजन चुड्का प्रस्तुतिहरु पनि प्रदर्शन गरिने छ । आगामी बर्षदेखि मेलाको समयावधि बढाउदै लैजाने मन्दिर व्यवस्थापन समितिको सोच रहेको छ । हरेलो मेला मार्फत बलेवा भैरवस्थान मन्दिरलाई देश विदेशमा व्यापक प्रचार गर्ने, मन्दिरको व्यवस्थापन उत्कृष्ठ बनाउने र मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरुको संख्यामा उल्लेखनिय बृद्धि गर्ने उद्धेश्य पनि मन्दिर व्यवस्थापन समितिले लिएको छ ।
नेपाल सरकारले बलेवा भैरवस्थान मन्दिरको महत्व, महिमा र प्रसिद्धिलाई मूल्याङ्कन गरेर यस मन्दिर सहित मूलाबारी तथा गाजा दहलाई पर्यटकिय गन्तव्यको १०० सूचि भित्र समावेश गरेको छ भने गण्डकी प्रदेशले पनि उच्च महत्व दिएको पाइन्छ । यसै गरी बागलुङ नगरपालिकाले पनि भैरवस्थान मन्दिरको राष्ट्रिय तथा अन्तराष्ट्रि जतगमा व्यापक प्रचार प्रसार होस र बलेवा क्षेत्रको विकासको मूल प्रवाहमा जोड्न सकियोस भनेर भैरवस्थान मन्दिर तथा हरेलो मेलालाई सस्थागत रुपमा नै सहयोग गर्ने गरी नीति तथा कार्यक्रममा समावेस गरी आवश्यक बजेट समेत बिनियोजन गरेको छ ।

कुश्मा हुदै बलेवा तथा भैरवस्थान मन्दिर जान तथा आउन चाहनेहरुका लागि भाद्र १ गते देखि भाद्र मसान्तसम्म बन्जी पुल बाट यात्रा गर्दा बानपा १२,१३ र १४ का व्यक्तीहरुलाई निःशुल्क यात्रा गर्न सकिने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ । यो यात्रा गर्दा आफ्नो परिचय खुल्ने नागरिकता वा परिचय पत्र भने द क्लिप प्रा.लीलाई देखाउनु पर्ने हुन्छ ।(राजु खड्का नगर उप–प्रमुख)