बागलुङ नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्दै

-


     कालिका दर्शन     
     भाद्र ६ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिकाले नगर क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको बिस्तृत बिवरण संकलन गर्ने भएको छ । आपाङ्गता परिचय पत्र बितरण समन्वय समितिका संयोजक एवं नगर उप–प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको छ ।
बागलुङ नगरपालिका भित्र रहेका अपाङ्गताको क्षेत्रमा कार्यरत संघ संस्था तथा वडा कार्यालयहरुसंग समन्वय गरी तथ्याङ्क संकलन गर्ने र अभिलेखिकरण गर्ने निर्णय भएको उप–प्रमुख खड्काले बताउनु भयो । अपाङ्गता भएका व्यक्ति तथा निजको संरक्षक वा अभिभावकहरुले आफ्नो वडा कार्यालयमा सम्पर्क गरी तोकिएको फारम भर्न अनुरोध गरेको छ ।
सो बैठकले बिगतमा जिल्ला प्रशासन कार्यालय र महिला बालबालिका कार्यालयबाट आपाङ्गता परिचय पत्र नविकरण नभएका व्यक्तिहरुको लागि पनि वडा कार्यालय तथा आपङ्गतासंग सरोकारवाला संघ संस्थाहरुको समन्वयमा परिचय पत्र उपलब्ध गराउने समेत निर्णय भएको छ ।
साथै अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बितरण सम्बन्धि कार्यविधि २०७५ को परिच्छेदको ३ दफा ६ मा भएको व्यवस्था अनुसारको स्थानिय समितिमा अपाङ्गता भएका ब्यक्तिहरुमध्ये बानपा ४ का धर्मराज आचार्य, दृष्टिविहिन व्यक्तिहरुबाट बानपा ४ का बिकल थापा र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु मध्येबाट बानपा ३ की सुरक्षा शर्मालाई सदस्यमा मनोनय गरिएको छ ।