जनतासंग माओबादी विशेष रुपान्तरण अभियान अन्तर्गत घर घरमा माओबादी जन जनमा माओबादी भन्ने नाराका साथ ३ महिने देशब्यापी अभियान संचालन गर्न लागेको सत्तारुढ दल नेकपा माओबादी केन्द्र, जिल्ला समन्वय समिति बागलुङले बिहिबार बिस्तारित बैेठक बागलुङ बजारमा सम्पन्न गरेको छ । जिल्ला संयोजक राजिव घिमिरेले संचालन गर्नु भएको बैठकमा प्रदेश तथा केन्द्रीय समितिबाट प्राप्त सर्कुलर, निदेैशिका तथा परिपत्रहरुबारे प्रदेश समितिका उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले बैठकलाई जानकारी गराउनु भएको कार्यालय सचिव चन्द्र बहादुर थापा सिखरले बताउनु भयो ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका सचिव एवं गण्डकी प्रदेश समितिका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले लिएका एजेण्डा तथा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारले गरेका सु-शाषन र भ्रष्टाचार बिरुद्धका जनपक्षिय कार्यहरुका बारेमा आमजनताको घर घरमा पुगेर जानकारी गराउन आग्रह गर्नु भयो । सचिव पौडेलले जिल्ला भित्रका ८५ वटै वडाका जनतासंगको भेटघाटमा पार्टी र सरकार संचालनका लागि प्राप्त सुझाव तथा प्रतिक्रिया पनि साथै ल्याउन सहभागीहरुलाई आग्रह गर्दै पार्टीको अभियानलाई पूर्ण रुपमा सफल बनाउन आग्रह गर्नु भयो ।
केन्द्रय सदस्य एवं बागलुङ, पर्वत र म्याग्दीका कमाण्डर हरी अधिकारी, केन्द्रीय सदस्य निर्वतमान जिल्ला इन्चार्ज बलावती शर्मा, केन्द्रीय सदस्य जिल्ला इन्चार्ज गोविन्द पौडेलले पनि आ–आफ्ना धारणा बैठकमा राख्नु भयो । बैठकमा जिल्ला भित्रका १० पालिका समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले आ–आफ्नो पालिकाको सांगठनिक रिर्पोटिङ प्रस्तुत गर्नु भएको थियो ।
अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन हुने छ । अभियान अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल समेत सात वटै प्रदेश र सबै स्थानीय तह पुग्ने कार्यक्रम बनाइएको छ ।अभियानलाई सफल बनाउनका लागि पार्टीले केन्द्र, प्रदेश तथा जिल्ला स्तरिय नेताहरुलाई जनताको घर घरमा पुग्ने गरी वडा तहमा खटाएको छ ।