मालिकामा तीज मेलाः छेलोमा पुरुष तर्फ बिजय, महिलामा सरस्वती प्रथम

-


     कालिका दर्शन     
     असाेज १ गते २०८० मा प्रकाशित



नेपाली महिलाहरुको महानपर्वको रुपमा रहेको हरितालिका तीजको सन्दर्भमा मालिका मन्दिर परिसरमा लाग्दै आएको तीजी मेलाले यस बर्ष पनि निरन्तरता पाएको छ । मेलाको उद्घाटनको अवसरमा बागलुङ नगरपालिकाका नगर उप-प्रमुख राजु खड्काले मालिका मन्दिर व्यवस्थापन समितिलाई सक्रिय बनाएर मन्दिरको गुरु योजना तयार गरी स्थानिय समुदाय सहितको सहभागितामा मालिका मन्दिरको विकास, व्यवस्थापन र प्रचार प्रसारमा लाग्नु पर्नेमा जोड दिनु भयो ।


उप प्रमुख खड्काले मन्दिरको विकास र प्रचार प्रसारका लागि तीज मेलाको विशेष महत्व रहेकाले मेलालाई निरन्तरता दिनु पर्ने बताउदै मन्दिरको बृहत्तर विकासका लागि सबैको साझा सहभागिता र सक्रियताका लागि सवैमा आह्वान गर्नु भयो । नगरपालिकाले गठन गरेको नगर पर्यटन विकास समितिले यो मन्दिरलाई समावेश गरी विकासका योजनाहरु बनाउने बताउनु भयो ।


कार्यक्रममा जगत गुरु हिमालयन बाबाले धार्मिक र सास्कृतिक क्षेत्रको विकासका लागि स्थानिय समुदायको सक्रियता आवश्यक पर्ने भएकाले स्थानियको सक्रियता तथा सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताउनु भयो । उहांले मालिका मन्दिर सहित कालिका, पन्चकोट, कुवेर धाम रत्नेचौर, शालग्राम संग्रालयसम्मको नयां धार्मिक रुट बनाउन सकिने बताउनु भयो ।
हरितालिका तीज मेला २०८० मूल समितिका संयोजक एवं बानपा ७ का वडा सदस्य रमेश किसानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जैविक विविधतायुक्त पर्यटन सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मुक्तिराम सापकोटा, बानपा ६ का अध्यक्ष रुद्र बहादुर के.सी लगायतले शुभ कामना दिनु भएको थियो ।

विश्वकर्मा माविका शिक्षक प्रकाश के.सीले संचालन गर्नु भएको कार्यक्रममा सामुदायिक बनका उपाध्यक्ष गोविन्द आचार्यले सहभागिलाई स्वागत गर्नु भएको थियो ।
उद्घाटनको दिन भएको पुरुष छेलोमा बिजय बोहोरा प्रथम, हिमाल बोहोरा दोस्रो र रमेश किसानले तेस्रो स्थान प्राप्त गर्नु भएको थियो । यसै गरी महिला तर्फको छेलो प्रतियोगितामा सरस्वती शर्मा सुवेदी प्रथम, फुलु किसान दोस्रो र राधा के.सीले तेस्रो स्थान प्राप्त गर्नु भएको हरी सापकोटाले बताउनु भयो ।


पुरुष भलिबल तर्फ जम्मा १८ टिमले भाग लिएकोमा सेमिफाइनलका प्रतिस्पर्धाहरु मंगलबार हुने आयोजकले जानकारी दिएको छ । तीजी गित प्रतियोगितामा विश्वकर्मा मावि पहिलो, तितौरे मावि दोस्रो र मालिका माविले तेस्रो स्थान प्राप्त गरे । महिला एकल नृत्य प्रतियोगितामा दिव्या खड्काले पहिलो स्थान प्राप्त गर्नु भयो भने विपना गैरेले दोस्रो स्थान प्राप्त गरेको हरी सापकोटाले जानकारी दिनु भयो ।