धवीमाविको ६० औं बार्षिकोत्सवः शिक्षक र कर्मचारीलाई राजनीतिमा नजोडिन उप-प्रमुख खड्काको आग्रह

-


     कालिका दर्शन     
     असाेज २ गते २०८० मा प्रकाशित



२०२१ सालमा स्थापना भएको धौलागिरी वीरेन्द्र माध्यामिक विद्यालय, रात्माटा बागलुङले स्थापनाको ६० औं बार्षिकोत्सव एवंम् अभिभावक दिवस मंगलबार सम्पन्न गरेको छ । बार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक भूमिराज शर्मा गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थिको औषत सिकाई उपलब्धी ७१ रहेको जानकारी दिनु भयो । प्रावि तहमा ८२, निमावि तहमा ६७, मावि तहमा ७३ र उमावि तहमा ६१ औसत उपलब्धी रहेको बताउनु भयो ।
विद्यालयमा कुल ३३ शिक्षक र ३ सय ३२ विद्यार्थि रहेका छन । बिद्यालयको अल्पकालिन र दीर्घकालिन योजनाबारे उल्लेख गर्दै प्रअ गौतमले व्यवस्थित विद्यालय भवन तथा छात्रावासको निर्माण, प्राविधिक शिक्षाका लागि व्यवस्थित प्रयोगशालाको सवलीकरण, कम्पाण्ड वालको निर्माण, खेलकुद मैदानमा तारजालीको व्यवस्था, यातयातका साधनको व्यवस्था र विद्यालय भित्र चमेना गृहको स्थापना, शैक्षिक गुणस्तर अभिबृद्धिका विविध कार्यक्रमहरु रहेको उल्लेख गर्नु भयो ।
भवन निर्माणका लागि आवश्यक प्रस्ताव स्थानीय पालिका, प्रदेश र संघीय सरकार समक्ष पेश गर्ने, विभिन्न संघ सस्था तथा स्थानीय पालिकाको सहयोगमा पशुविज्ञान प्रयोगशाला र विज्ञान प्रयोगशाला व्यवस्थित गर्दै लगिने गौतमले बताउनु भयो । व्यवस्थित कम्पाउण्ड वाल र स्कूल बस खरिदका लागि नगरपालिका समक्ष प्रस्ताव पेश गर्ने तथा शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नियमित पठनपाठनका साथै अन्तरक्रिया, अभिभावकको सक्रियताका लागि अभिभावक भेला तथा टोल भेटघाट कार्यक्रमलाई प्राथमिकतामा राखिने पनि प्रअ गौतमले प्रतिवेदनमा उल्लेख गर्नु भएको छ ।


बार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले पछिल्लो समय धवीमाविको प्रगति सन्तोषजनक रुपमा अगाडी बढिरहेको बताउदै कुनै समय ४२ जना विद्यार्थि रहेको यस विद्यालयमा हाल ३ सय ३२ विद्यार्थि भर्ना हुनुले अभिभावक, समुदाय र विद्यार्थिको मन जित्न सकेको प्रष्ट हुने बताउनु भयो । पुरानो विद्यालयको रुपमा परिचित धवीमाविलाई सिघ्र बाल मैत्री विद्यालय घोषणा गर्न सकियो भने यो विद्यालय नमुना विद्यालयको रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको र त्यसका लागि सरोकारवाला सवैले समान सक्रियता, समान योगदान, समान जिम्मेवारी र समान नेतृत्व गर्नु पर्नेमा जोड दिनु भयो । उहांले शिक्षकहरुलाई राजनीतिमा संलग्न नहुन र शैक्षिक विकासमा केन्द्रित भैरहन आग्रह गर्नु भयो ।

नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले शिक्षामा अवको प्रतिस्पर्धा कक्षास्तरको हैनकी अन्तराष्ट्यि स्तरकै हुन गैरहेकोले अव परम्परागत शैलीले शिक्षाको विकास सम्भव नरहेको बताउदै अहिलेको समय परिवेश अनुसार सरोकारवाला सवै लाग्नु पर्नेमा जोड दिनु भयो । २०६७ सालदेखि कक्षा ११ र १२ को सम्बन्धन पाई व्यवस्थापन समूह र शिक्षा समूहमा ११ र १२ संचालन हुदै आएकोमा २०७३ साल देखि प्राविधिक धारतर्फको पशु विज्ञान कक्षा ९ देखि १२ सम्म संचालन भैरहेको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख युक्तप्रसाद शर्मा, कार्यपालिका सदस्य धनमाया शर्मा, विद्यामन्दिर मावि विव्यस अध्यक्ष बाबुलाल शाक्य, घनबल जेहेन्दार छात्रबृत्ति कोषका संरक्षक हिमाल शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष टीकाराम सापकोटा, पूर्व शिक्षक राम बहादुर केसी,पूर्व विद्यार्थि पुनम प्रसाद शर्मा, सामाजिक व्यक्तित्व मुरारीदत्त शर्मा, अभिभावक विष्णुनाथ सापकोटा तथा कक्षा ८ का छात्र सक्षम आचार्य लगायतले शुभ कामना व्यक्त गर्नु भयो ।

बार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगितामा बिजयी विद्यार्थि एवं शैक्षिक सेवामा योगदान दिनु हुने पूर्व शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सापकोटाको अध्यक्षतामा संचालित कार्यक्रममा स्वागत बिजया शर्माले, संचालन शिक्षक पूर्णराज रेग्मीले गर्नु भएको थियो ।