बेलायत बाट संचालित गोर्खा मिडियाको तेस्रो बार्षिकोत्सब सम्पन्न

-


     कालिका दर्शन     
     असाेज ६ गते २०८० मा प्रकाशित


गोर्खा मिडिया लिमिटेड बेलायतद्वारा सञ्चालित गोर्खा मिडिया डटकमले तेस्रो वार्षिकोत्सव अवसरमा आइतबार अल्डरसटमा विशेष समारोह सम्पन्न गरेको छ ।

सुसी मोटो रेस्टुरेन्टमा १७ सेप्टेम्बर दिउँसो आयोजित औपचारिक समारोहको प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका उपमेयर काउन्सिलर जीत रानाभाटले उद्घाटन गर्दै सत्य, तथ्य तथा पारदर्शीरुपमा गोर्खा मिडियाले समाचार तथा भिडियो सम्प्रेषण गर्दै आएको बताए । उनले समाजलाई अग्रगामी बनाउन मद्दत पुग्ने गरी ठूलो समुदाय गोर्खाको प्रतिनिधित्व गोर्खा मिडियाले गरेको भन्दै आगामी दिनमा पनि अझ सफलताको शुभकामना दिए ।

बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपीले गोर्खा मिडियालाई अझ सफलताको शुभकामना दिए । एनआरएन युकेका वरिष्ठ सल्लाहकार तथा गोर्खा मिडियाका सल्लाहकार, तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले दुई सयभन्दा बढी इतिहास बोकेको गोर्खाको ट्रेडमार्कलाई लिएर गोर्खा मिडियाले पारदर्शीरुपमा समाचार सम्प्रेषण गरेको बताए । उनले मिडिया विस्तारै धरासायी हुँदै गएकोमा गोर्खा मिडिया जे–जसरी संचालित छ, त्यसले यो लामो समयसम्म अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सगरमाथाको देश, बुद्ध जन्मेको देशजस्तै गोर्खालीको देश भनेर चिनाउनुपर्ने बताए ।
सूचना र मानवीय सेवा सँगसँगै’ अघि बढाउने उद्देश्यले गोर्खा मिडिया सन् २०२० सेप्टेम्बर १४ तारिखमा स्थापना भएको हो । बेलायत, गोर्खा समुदायलाई प्राथमिकता दिँदै जनचासोका समाचार र विचार समेट्दै अघि बढेको मिडियाले विज्ञापनमार्फत संकलित रकम अफिस सञ्‍चालन र विपन्न व्यक्ति–परिवार, विभिन्न समस्याबाट पीडितको घाउमा मलम लगाउनुका साथै शिक्षा, संस्कृति तथा कलाकारितामा समेत टेवा पुर्‍याउँदै आएको छ ।