बागलुङ बजारमा श्याउ र केराको मूल्य निर्धारण, दुधको गुणस्तर कायम गर्ने व्यवसायीको प्रतिबद्धता

-


     कालिका दर्शन     
     असाेज ९ गते २०८० मा प्रकाशित



बागलुङ बजारमा फलफूलको मूल्य बृद्धि तथा दूधको गुणस्तरका सम्बन्धमा गुनासो आएपछी बागलुङ नगरपालिकाले सम्बन्धित ब्यवसायीहरुसंग छलफल गरी मूल्य निर्धारण गरेको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं नगर उप-प्रमुख राजु खड्काको अध्यक्षतामा बसेको बैठकले केरा तथा श्याउको मूल्य निर्धारण गरेको छ ।

यसै गरी बागलुङ बजारमा विक्री भैरहेको दुधको गुणस्तर कायम गर्न ब्यवसायीहरुलाई बैठकले आग्रह गरेको छ । नगर उप-प्रमुख खड्कले दुध ब्यवसायीहरुलाई दुधको मूल्यसंगै गुणस्तर नतिजाको रिपोर्ट पसलमा सवैले देख्ने गरी राख्न आग्रह गर्नु भयो । उहांले ब्यवसायको सकारात्मक सन्देश बाहिर जाने गरी ब्यवसाय संचालन गर्न आग्रह गर्दै बालबालिका, ज्येष्ठ नागरिक देखि सवै उमेर समूहका नागरिकहरुले दैनिक उपयोग गर्ने दुधको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नु भयो । सो अवसरमा गुणस्तर मापनमा फ्याट ६.१० प्रतिशत र एसएनएफमा ९ प्रतिशत ल्याउने बलेवा भैरव पशुपालन फर्मलाई सम्मान गरियो ।
चाडपर्व नजिकिरहेकाले स्थानिय प्रशासन सहित सरोकारवालाहरुसंग समन्वय गरी बजार अनुगमनको कार्यलाई तिब्रता दिइने खड्काले बताउनु भयो । साथै नगरपालिकाले उपभोग्य सामाग्रीको गुणस्तर मापनका लागि ल्याब स्थापना गर्न लागेको जानकारी दिनु भयो । उहांले बागलुङ बजारमा ब्यवसाय गर्ने व्यवसायीहरुलाई घर भाडा महङ्गो भएको गुनासो आइरहेकाले घरधनीहरुसंग समन्वय गरी भाडा समायोजनका लागि पहल गरिने उल्लेख गर्दै तरकारी तथा फलफूल ब्यवसायीसंग कृषि उत्पादक किसानबीच अन्तक्रिया गरी स्थानीय उत्पादनलाई प्रोत्साहनका लागि समेत पहल गरिने बताउनु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले ब्यवसायीहरुलाई कानुनमा तोकिएको मापदण्ड भित्र रहेर व्यवसाय गर्न आग्रह गर्नु भयो । उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नगरपालिकाका अधिकृत युक्त प्रसाद सुवेदी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रेम अर्याल र सहन्सा कुमार मेहता, तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद भट्राई लगायत ब्यवसायीहरुले आ-आफ्ना भनाई राख्नु भएको थियो ।