बलेवा एकता सहकारीको १३ औं बार्षिकोत्सव सम्पन्न

-


     कालिका दर्शन     
     असाेज ३० गते २०८० मा प्रकाशित


बलेवा एकता बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारण सभा सोमबार नारायणस्थानमा सम्पन्न भएको छ । सहकारीको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर उप- प्रमुख राजु खड्काले सहकारी सस्थाहरुले सहकारी शिक्षामा विशेष जोड दिदै वित्तिय साक्षरता, बचत, ऋण आदीका बारेमा शेयर सदस्यहरुलाई पर्याप्त जानकारी दिदै सहकारीप्रतिको गलत बुझाइलाई आफ्ना सदस्यहरु मार्फत आम जनतामाझ प्रस्ट पार्नु पर्ने बताउनु भयो ।

केही सहकारीहरुको कमजोरीका कारण सहकारी क्षेत्रमा समस्या आए पनि बलेवा एकता सहकारीले सदस्यहरुलाई विश्वासमा लिएर सस्थागत रुपमा काम गरिरहेको उल्लेख गर्दे उप प्रमुख खड्काले विभिन्न स्थानहरुमा सेवा केन्द्र समेत स्थापना गरेर ५ बर्षिय रणनीतिक योजना सहित काम गर्नु महत्वपूर्ण कार्य भएको बताउनु भयो बलेवाको अर्थतन्त्र चलायमान गराउन यो सहकारीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै उहांले उत्पादनमा लगानी गर्न सहकारी सस्थाहरुलाई आग्रह गर्दै लेखा परिक्षक र लेखा समितिले दिने सुझावलाई कार्यान्वयन गर्न आग्रह गर्नु भयो ।

२०६७ असोज ६ गते बानपा १४ नारायणस्थानमा स्थापना भएको सहकारीले नारायणस्थानमा केन्द्रिय तथा बागलुङ बजार, बानपा १२ अमलाचौर तथा बानपा १३ पैयुपाटामा सेवाकेन्द्र स्थापना गरी आफ्ना सदस्यहरुलाई बित्तिय तथा गैर वित्तिय र रेमिट्यान्स सेवा दिइ रहेको छ । अत्याधुनिक कम्प्युटराइज व्यवस्थापन,एस एम एस, इन्टरनेट बैकिङ तथा क्यूआर कोड सुविधा सहित सेवा प्रवाह गरिरहेको यस सहकारीले रासायनिक मल तथा विउंको प्रवन्ध, विद्यृत महशुल भुक्तानी, बायुसेवा टिकट बुकिङ लगायतका सेवा दिने गरेको छ ।

विभिन्न ३ वटा सहकारीहरुलाई एकिकरण गरि बानपा र जैमिनी नपालाई कार्यक्षेत्र बनाएको छ । १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको यस सहकारीको २ करोड ४४ लाख १७ हजार ३ सय शेयर पूजी, २१ करोड ९२ लाख ९१ हजार ५१ रुपैया ऋण लगानी र २१ करोड ८८ लाख ४५ हजार ९ सय १३ रुपैया निक्षेप संकलन रहेको प्रबन्धक भरत पौडेलले जानकारी दिनु भयो । २ हजार २ सय ३३ शेयर सदस्य रहेको सहकारीमा १३०९ महिला र ९२१ पुरुष छन ।

४०३ सदस्यलाई ऋण लगानी गरेको प्रबन्धक पौडेलले बताउनु भयो । सहकारीका संचालक समिति अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष धन बहादुर रोकाको स्वागत तथा प्रबन्धक भरत पौडेलले कार्यक्रम संचालन गर्नु भएको थियो । बानपा १४ का अध्यक्ष चक्र बहादुर खत्री सहितका बक्ताहरुले शुभ कामना व्यक्त गर्नु भएको थियो ।