बागलुङ क्रिकेट संघको आयोजनामा मंगलबारदेखि बाङ्गेचौर खेलमैदानमा गण्डकी प्रदेश स्तरीय टि २० क्रिकेट प्रतियोगिता शुरु भएको छ । बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले प्रतियोगिताको उद्घाटन गर्दै न्यूनतम श्रोत साधनको अधिकतम उपयोग गरेर क्रिकेटका खेलाडीहरुले देश विदेशमा महत्वपूर्ण सफलता प्राप्त गरिरहेको र यो सफलताले राज्यको इज्जत बढाएको उल्लेख गर्दै बागलुङमा पनि क्रिकेट संघले गरिरहेको प्रयास महत्वपूर्ण रहेको बताउनु भयो ।
स्थानीय खेलाडीहरुलाई प्रशिक्षण, प्रतियोगितामा सहभागिता र प्रतियोगिता आयोजनासम्ममा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुु भयो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले शुभ कामना व्यक्त गर्नु भयो । बागलुङ क्रिकेट संघका अध्यक्ष बिष्णु प्रसाद आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहको संचालन उपाध्यक्ष कमल पन्तले र सहभागिहरुलाई सदस्य अभिषेक कटुवालले स्वागत गर्नु भएको थियो ।
मंगलबारबाट शुरु भएको प्रतियोगिता २५ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका बागलुङ सहित कास्की, पर्वत, तनहु, नवलपुर र स्याङ्जा गरी ६ जिल्ला सहभागि रहेका छन । उद्घाटन म्याच बागलुङ र पर्वतवीच हुदैछ ।