सिरुबारी र भकुण्डेका होमस्टेले जोडे मितेरी सम्बन्ध

-


     कालिका दर्शन     
     चैत्र ३० गते २०८० मा प्रकाशित


नेपाली समाजमा मौलिक तथा बैभवशाली संस्कृति र परम्परालाई टेकेर लगाइने मितेरी साइनोले ठूलो अर्थ राख्छ । मितेरी साइनो ब्यक्ती ब्यक्ती हुदै सस्था, पालिकाहरुले देश विदेशसम्म लगाउने चलन छ । बैदिककाल देखिनै मीतको प्रचलन रहको पाइन्छ । द्धापर युगमै श्रीकृष्ण र सुदामाको सम्बन्ध, महाभारतमा दुर्गोधन र कर्णको सम्बन्ध तथा श्रीराम र सुग्रीवको सम्बन्धले पनि धेरै सन्देश दिएको पाइन्छ ।


भावनात्मक सम्बन्धलाई कसिलो बनाउने, सुखदु:ख साट्ने, सम्बन्धलाई थप प्रगाढ बनाउने तथा एकअर्काे समुदायवीच घुलमिल हुने महत्वपूर्ण माध्यमको रुपमा मिलेरी सम्बन्धलाई लिने गरिन्छ । यसै प्रसंगमा बागलुङ नगरपालिका, नगर पर्यटन विकास समितिको संयोजनमा बागलुङ र स्याङ्जामा रहेका २ होम स्टेले चैत्र २८ गते आपसमा मितेरी सम्बन्ध जोडेका छन । बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा रहेको अतिथी सत्कार सामुदायिक होम स्टे र स्याङ्जाको आंधिखोला गाउंपालिका वडा नं. १ पञ्चमूल, सिरुवारीमा रहेको सिरुवारी सामुदायिक होमस्टेले कला, संस्कृति, संस्कार, उत्पादन, लगायत अन्य समानतामुक्त बिषयहरुको प्रचार प्रसार गरी स्थानिय उत्पादन, आर्थिक विकास, पर्यटन प्रबद्र्धन तथा दुवै होमस्टेको विकास गर्ने गरी मितेरी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा दस्तखत गरेका छन ।


अतिथी सत्कार सामुदायिक होमस्टे क्षेत्रको स्थानीय उत्पादन सिरुवारी होमस्टेमा उपभोग र विक्री बितरण, प्रचार प्रसार गर्ने र सिरुवारी होमस्टे क्षेत्रको स्थानीय उत्पादनलाई अतिथी सत्कार होमस्टेमा उपभोग तथा विक्री बितरण र प्रचार प्रसार गरी स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । सिरुवारीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भकुण्डे पठाउने र भकुण्डे आउने पर्यटकहरुलाई सिरुवारी पठाउने वातावरण सृजनाका लागि आकर्षक वातावरण तयार गर्न दुवै होमस्टे तयार भएका छन । दुवै होमस्टेको ब्यापक प्रचार गर्न दुवै स्थानमा होर्डिङ बोर्डहरु राख्ने, संयुक्त योजना बनाउने आपसी समन्वय र सहयोगबाट होमस्टेको थप सम्भावनाको खोजी गर्ने समेत उल्लेख गरेका छन ।


दुई होमस्टेले स्थानीय सरकारसंगको समन्वय र साझेदारीमा थप पूर्वाधार निर्माण गर्ने, असल अम्यास आदान र भ्रमणलाई समय समयमा निरन्तर संचालन गर्ने बनाए । यी दुई होमस्टे जनजाति पृष्ठभूमि भएका समुदायहरुले संचालन गरेका छन । सिरुवारी गुरुङ समुदायहरुले र भकुण्डे मगर समुदायहरुले संचलान गरिरहेका छन । समझदारी पत्रमा सिरुवारीको तर्फबाट जितेन्द्र गुरुङ तथा अतिथी सत्कारबाट उमेश सर्बुजाले दस्तखत गरेका छन । बागलुङ नगरपालिकाका नगर उप प्रमुख, सहायक प्रजिअ, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष सहित अतिथी सत्कार होम स्टेका संचालकहरुलाई साथमा राखेर सिरुवारीमा मितेरी सम्बन्ध गांसिएको थियो ।


अतिथी सत्कार होमस्टे भकुण्डेको संक्षिप्त चिनारी
समुन्द्र सतहदेखि करिव ७५० देखि २३५० मिटरको उचाईमा भकुण्डे रहेको छ । यो क्षेत्रमा विभिन्न जातजातीहरुको बसोवास रहे पनि मगर जातीहरुको बाहुल्यता छ । उत्तर मोहडा रहेको यो क्षेत्र भौगोलिक रुपमा भिरालो प्रकृतिको छ । यहाको हावापानी समशितोष्ण प्रकारको रहेको र जाडोमा शुन्य डिग्री तथा गर्मि याममा ३२ डिग्री सम्म तापक्रम पुग्ने गर्दछ । जाडो याममा भकुण्डेको माथिल्लो भागमा हिंउ पर्छ । बागलुङ बजारसंगै जोडएको र काठेखोलाले सिमाना छुट्याएको भकुण्डे भौगोलिक, पर्यावरणीय, पर्यटन, उत्पादन, प्राकृतिक तथा सांस्कृतिक शौन्दर्य र मनोरम परिदृश्यले सुसज्जित रहेको छ । भकुण्डेको तालबराह मन्दिरमा कार्तिक पूर्णिमामा ठूलो मेला लाग्छ । सो दिन विशेषरुपमा बराह मन्दिरमा पूजा र तालमा तोरण टागिन्छ ।
२०७३ सालमा औपचारिक रुपमा अतिथी सत्कार होमस्टे स्थापना गरिएको थियो । १५ घरका ४५ कोठामा ९० शैयाको पाहुना राख्न सक्ने गरी प्रबन्ध मिलाइएको छ । भकुण्डेको आलु, मकै, कोदोको परिकार, हरियो तरकारी, स्थानियस्तरमा राम्रो उत्पादन हुन्छन । भकुण्डेबाट देखिने हिमश्रृङ्खलाहरुको लोभलाग्दो परिदृश्य हेर्न र स्थानीय उत्पादनको स्वाद लिन आन्तरिक तथा विदेशी पर्यटकहरुको आगमन बढ्दै गैरहेको छ ।


सिरुबारी होमस्टेको संक्षिप्त चिनारी
समुन्द्र सतहदेखि १६२० मिटरको उचाइमा रहेको सिरुवारी ग्रीष्मको तापक्रम औसतमा २५ तथा हिउदमा १२ डिग्री सेल्सियस हुन्छ । सरदर बार्षिक १२५ सेन्टिमिटर औसतमा यहां बर्षा हुन्छ । ५२ हजार बर्ग मिटर क्षेत्रफलमा रहेको सिरुबारीमा ४३ घरधुरीमा करिब २५० जनसंख्या रहेको छ । बिशेषत गुरुङ जातीको बाहुल्यता रहेको यहांका मानिसहरु भारतीय तथा ब्रिटिस सेनाबाट निबृत रहेका छन । यहांको पेशा कृषि रहे पनि होमस्मटे संचालनमा आएपछी व्यवसायिक रुपमा होमस्टेमा आबद्ध रहेको पाइन्छ ।
सिरुबारीमा मूलतः गुरुङ संस्कृति, गुरुङ भाषा, गुरुङ पहिरन नियाल्न सकिन्छ । यहां ल्योसार मनाइन्छ । कोदो, फापर, मकै, आलु, तोरी, धान, केराउ आदी यहांको राम्रो उत्पादन हुन । यहां हरदिन जसो पाहुनाहरुलाई पञ्चेबाजाले स्वागत गर्दै गुम्बाघरमा स्वागत तथा जानेबेलामा बिदाई गरिन्छ । यसै स्थानमा पाहुनाहरुका लागि नाचगान तथा विभिन्न सांस्कृतिक कार्यक्रम देखाउने गरिन्छ । पाहुनाहरुले पनि आफ्नो कला तेसवेला देखाउन सक्छन ।


सिरुबारी गाउं हेर्दामा पनि निकै आकर्षक देखिन्छ । गुजुमुज्ज छाता आकारको गाउं भित्रका ढुङ्गा बिछ्याएका सफा बाटो, ढुङ्गाका पर्खाल, ढुङ्गाका घरहरु, स्थानियहरुको जिवनशैलीले पाहुनाहरुको मन सहजै जित्ने गरेको देखिन्छ ।
नेपालमा पहिलो पटक होमस्टेको शुरुवात सिरुबारीबाट नै २०५४ सालमा भएको पाइन्छ । सिरुबारीका लाहुरे क्याप्टेन रुद्रमान गुरुङको दिमागमा आएको एउटा कल्पनाले आज सिरुबारी होमस्टे देश विदेशमा परिचित हुदै गएको छ । होमस्टेका पाहुनाहरुलाई बाजागाजा सहित गरिने हार्दिकता सहितको स्वागत तथा बिदाई, सरसफाई, पारिवारीक वातावरण, अर्गानिक खानपिन, आरामदायी बसाई, मिठो बोली, सांस्कृतिक गतिविधी, फुल मालाको स्वागत सिरुबारीमा पाइन्छ । जुन होमस्टेका विशेषताहरु हुन । अहिले देशभर होमस्टेको स्थापनाका लागि धेरै प्रयासहरु भैरहेको पाइन्छ । यो कार्यमा सिरुबारीले नयां होमस्टेहरुलाई मार्गनिर्देश गरिरहेको पाइन्छ । (राजु खड्का, नगर उप-प्रमुख बागलुङ नगरपालिका)