कालिका मन्दिर र चैत्राष्टमी मेलाको महत्व

-


     कालिका दर्शन     
     वैशाख ४ गते २०८१ मा प्रकाशित


नेपाल भित्रको सानो नेपाल भनेर समेत चिन्न सकिने बागलुङ जिल्ला , धौलागिरी हिमालको काखमा अबस्थित पवित्र कालिगण्डकी नदी र काठे खोला दोभानको संगमस्थल भन्दा माथिल्लो भागमा ऐतिहासिक प्रसिद्ध कालिका मन्दिर रहेको छ । बानपा १ रामरेखा स्थित बाङ्गेचौर मैदानसंगै घना जंगलको बीचमा अवस्थित कालिका मन्दिरमा दिनहु जसो हजारौ भत्तजनहरुको उपस्थिति रहने गर्दछ । बागलुङको खास र विशेष पहिचानको महत्वपुर्ण ऐतिहासिक सम्पदा हो बागलुङ कालिका मन्दिर । धार्मिक आस्था तथा संस्कृतिको मिलन बिन्दुको रुपमा रहेको कालिका मन्दिर नेपालकै गौरव एवं नेपालीहरुको स्वाभिमानको महत्वपुर्ण आधार बनेको छ ।
वि.सं.१५९१ सालमा तत्कालिन पर्वत राज्यका राजा पतापी नारायण मल्लको पाल्पाली राजा मणि मुकुण्द सेनकी राजकुमारीसंग बिवाह हुदा राजकुमारीले कालिका देवीको मुर्ति साथैमा ल्याई हालको कालिका मन्दिर रहेको स्थानमा देवीको मन्दिर स्थापना गरेको खड्का दाजुभाईहरुबाट सुन्न पाइन्छ ।
जब सेन दरवारमा राजा र राजकुमारीको बिवाह भयो, जन्ति पर्वत फर्कन लाग्दा दरवारमा रहेको खड्ग र डोली कसैले पनि उठाउन खोज्दा उक्त डोली र खडग नउठेपछी विभिन्न व्यक्तीहरुले डोली र खडग बोक्न खोजे तर उठेन । यत्तिकैमा एक जना सिकारी भेषदारी व्यक्ती दरवारमा देखिए । उनलाई खडग उठाउन भनियो । उनले खडग उठाउन सके । डोली उठाउने ति व्यक्ती चक्र पवार थिए ।
तत पश्चात चक्र पुवारले खडग बोके भने मगरहरुले डोली बोके । जन्ती पर्वत फिर्ता हुदै गर्दा हालको कालिका मन्दिर रहेको स्थानमा आएपछी देवीको डोली र खड्ग नचलेपछी सोही स्थानमा देवीले बस्ने इच्छा गरेको सम्झेर राजा र राजकुमारीले त्यहा कालिका मन्दिर स्थापना गरी देवीलाई सोही मन्दिरमा राखे । खड्ग बोकी आउने चक्र पवारलाई पुजारी बनाए । बागलुङ चौर हालको बागलुङ बजारको केही क्षेत्रलाइ गुठी कायम गरी मन्दिरको पुजा आजा चलाउने प्रबन्ध मिलाए ।
कालिका मन्दिरमा पुजारीका रुपमा रहेका चक्रपवार पछि उनका दरसन्तानहरुले कालिका देवीको नियमित सेवा पुजा आजा गर्न थाले । चक्र पवारका दरसन्तानहरु भनेका हाल बागलुङ बजार सहित आसपासको क्षेत्रमा बस्दै आएका पवार बंशिय खड्का दाजुभाईहरु हुन ।
नगरपालिका आटेको पुर्याइदेउ, रेशम बागलुङ कालिका………बागलुङका पुराना गायक शुभराम भारीले गायको यो गित होस वा बागलुङ घुम्न जाउं हिंड चैतेदशैं मेला…..अहिलेको पिढीका गायक राजेश बर्देवाले गायको यो गितले कालिका मन्दिर र चैतेदशैंको महत्व तथा महिमा बोल्छ । तिलक बम मल्लले गायको चैते दशैं बागलुङे मेलैमा, बिमलराज क्षेत्रीले गायको चैते दशैं मेलैमा माया बस्यो ख्याल ख्यालैमा लगायत कैयौं गित संगितहरु छन, जसले कालिका मन्दिर र मन्दिर परिसरमा लाग्ने चैते दशैंको व्यापक प्रचार र प्रबद्र्धन गरिरहेका छन ।
चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा कालिका मन्दिरमा विशेष पूजा आजा हुने गर्दछ । यो समयमा कालिका मन्दिरमा चैते दशैं मेला लाग्ने गर्दछ । चैत्राष्टमी मेला गण्डकी प्रदेशको मात्र नभएर नेपालकै ठूलो र महत्वपूर्ण ऐतिहासिक मेला हो । यो मेलाको धार्मिक महत्व त छदै छ, यसले आर्थिक, सामाजिक,सास्कृतिक तथा राजनैतिक रुपमा पनि महत्व राख्दछ । कालिका मन्दिर क्षेत्रमा लाग्ने चैते दशै मेलामा देशभरका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु आउने गर्दछन । यो मेलाको महत्वलाई सम्झेर गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशमा बिगत बर्ष देखि सार्वजनिक रुपमा बिदा पनि दिने गरेको छ ।
आफ्नो मनकामना र भाकल पुरा होस् भनी कालिका देवीको पुजा गर्न आउनेहरुको भीड एकातिर हुन्छ भने अर्काे तर्फ चैते दशैंमा भेटौला भनी बाचा गरेका नरनारीहरु नयां तथा लोक भाकामा रमाउदै गाउदै पुनर्मिलन हुने मौका पनि यही हो । यो अवसरमा लोकगितका भाका तथा लयहरु खुबै सुन्न पाइन्छ । एक प्रकारले भन्ने हो भने कालिका मन्दिर क्षेत्रमा लाग्ने चैतेदशैं मेला यो प्रदेशको सांस्कृतिक पर्वको रुपमा पनि लिन सकिन्छ ।
पर्वतका राजाहरु चैते दशैंमा कालिका मन्दिर आउने पुजा अर्चना गर्ने, धार्मिक अनुष्ठानादि गर्ने गर्दथे साथै यहां बसोबास गर्ने आफ्ना प्रजाहरुका पीरमर्का सुन्ने, बुझ्ने, बन्द व्यापार हेर्ने तथा जनतासंग भेटघाट गर्ने गर्दथे । जसबाट राजा परिवारले आफ्ना जनताहरुसंग सामिप्यमा हुने राम्रो अवसर प्राप्त हुन्थ्यो । यस प्रकार चैते दशैं मेलाको धार्मिक, सामाजिक,सास्कृतिक, आर्थिक तथा राजनैतिक रुपमा निकै महत्व रहेकोमा अत्युक्ति हुदैन । यो मेलाले स्थानिय तथा व्यापारका लागि आउनेहरुका लागि आर्थिक कारोवार, पर्यटन विकास, रोजगारी, उत्पादन र बजारीकरणमा समेत ठूलो भूमिका खेलेको पाइन्छ । कालिका मन्दिरको प्रबद्र्धन र धार्मिक पर्यटनको क्षेत्रमा चैतेदशैं मेलाले उल्लेखनिय भूमिका खेलको सवैको सामु छर्लङ्ग छ ।
कालिका मन्दिरको स्थापनासंगै तत्कालिन राजपरिवार तथा जनताहरुले उतिवेलाबाटै यो मेला चलाएको अनुमान गरिएको छ । यसको विकास पछी हालको स्वरुपमा बदलिएको हुन सक्छ । परम्परागत र स्वत स्फूर्त रुपमा लाग्ने चैतेदशैं मेला पछिल्लो समय ठूलै मेला तथा महोत्सवको शैलीमा संचालन हुने गरेको छ । चैते दशैंको समयमा स्वत स्फूर्त रुपमा कालिका मन्दिरमा मेला लाग्थ्यो । त्यस समयमा स्थानिय उत्पादनका सामाग्रीहरु, भाडाकुडाहरु, माटा तथा धातुका विभिन्न सामाग्रीहरु, हाते बुनाईका कपडाहरु, घरायसी सामानहरु तथा हात हतियारहरुको प्रदर्शनी तथा खरिद विक्री हुने गर्दथ्यो ।
समय क्रमसंगै पछिल्ला मेलाहरुमा मौलिक गतिविधीहरु सहित स्थानीय उत्पादन, ब्यापार, खेलकुद, कला संस्कृति प्रर्दशनीले पनि उल्लेख महत्व पाएको देखिन्छ । चैत्राष्टमी मेला कला तथा प्रतिभाहरुको क्षमता प्रदर्शन गर्ने तथा आर्थिक गतिविधी चलायमान गराउने शसक्त र महत्वपूर्ण माध्यय बनेको छ । यसबाट आर्थिक उपार्जन हुनुका साथै स्थानीय बस्तुको चिनारी एवं ब्यापार र पर्यटन प्रबद्र्धनमा समेत ठूलो मद्धत पुगेको छ । यो मेलालाई कालिका भगवती गुठीले संयोजन गरी आयोजना गर्ने गरेको छ । (राजु खड्का, नगर उप-प्रमुख बागलुङ नगरपालिका)