लैगिंक हिंसा बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्न तथा लैंगिंक हिंसाजन्य घटना न्यूनिकरण गरी हिंसा प्रभावितहरुलाई सहयोग र आवश्यक सहजिकरण गर्नका लागि बागलुङ नगरपालिकाका १४ वटै वडाहरुमा निगरानी समितिहरु गठन गरिएको छ । सो समितिमा प्रत्येक वडाका दलित महिला सदस्य संयोजक, वडाका अन्य सदस्यहरु सहित स्वास्थ्य स्वंयमसेविका, सहकारी, समाजसेवी, शिक्षक, स्वास्थ्यकर्मि, मेलमिलापकर्ता, टोलविकास सस्था तथा वडास्तरिय बाल संजालबाट सदस्य रहनु हुने छ ।
बागलुुङ नगरपालिकाका नगर उप प्रमुख एवं हिंसा प्रभावितको लागि सेवा केन्द्र ब्यवस्थापन समितिका संयोजक राजु खड्काको अध्यक्षतामा बसेको बैठकले नगरका सवै वडाहरुमा लैगिक हिंसा न्यूनीकरणका लागि वडास्तरिय निगरानी समितिहरु गठन गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेश सरकारबाट लैंगिक हिंसाजन्य घटनाबाट सृजित असरको न्यूनिकरण गरी प्रभावितलाई सामाजिक न्यायको अनुभूति दिलाउन घरेलु हिंसा कसुर र सजाय ऐन २०६६ को दफा ११ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न अल्पकालिन आश्रय सहितको सेवा केन्द्रहरु जिल्ला सदरमुकामहरुमा रहेका छन । आइतबार आयोजित अभिमुखिकरणमा सहभागि समितिका संयोजक तथा सदस्यहरुलाई निगरानी समितिहरुले गर्ने कार्यहरुकाबारेमा जानकारी गराइएको थियो ।
अभिमुखिकरणमा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले महिला हिंसा, दण्ड र सजाय, वडास्तरिय निगरानी समितिको काम, कर्तब्य र भूमिकाबारे मानव अधिकारकर्मि अधिबक्ता लक्ष्मी जिशी कार्कि, अस्पतालमा आधारित लैंगिंक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रकी सम्पर्क व्यक्ति देवि भटराईले केन्द्रको परिचय र केन्द्रबाट प्रदान गरिने सेवाहरुका बारेमा, जिल्ला कानुनी सहायता समितिद्धारा प्रदान गर्न सकिने सेवा सुविधाबारे अधिबक्ता हरिनारायण रेग्मी, नगरपालिकामा रहेको सेवा केन्द्रको गतिविधी र पछिल्लो प्रगतिका सम्बन्धमा बागलुङ नगरपालिका महिला बालबालिका शाखा प्रमुख सरस्वती रेग्मी, जिल्ला प्रहरी कार्यालय, महिला सेलबाट उपलब्ध हुने सेवाहरुका बारेमा प्रहरी सहायक निरिक्षक श्रद्धा कुवरले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
वडा स्तरिय निगरानी समितिहरु मार्फत नगर क्षेत्रमा रहेका महिलाहरुको अवस्था अध्ययन गर्ने, महिला तथा बालबालिकाहरुको जीवनमा सकारात्मक परिवर्तनका लागि योजना बनाउने, लैंगिक हिंसाका घटना न्यूनिकरणका लागि निरन्तर प्रयासहरु गर्ने, मानव बेचविखन,बालबिवाह, दाइजो, बालश्रम, तथा उपेक्षा न्यूनिकरणका विभिन्न अभियानहरु चलाउने, पिडकलाई कानुनी दायरामा ल्याउने , महिलालाई विकासको मूलधारमा ल्याउने तथा महिलाहरुको मागका आधारमा सिप, उत्पादन, रोजगार तथा सशक्तिकरणका कार्यक्रमहरु संचालन गरिने नगर उप प्रमुख खड्काले बताउनु भयो ।